नयाँ पुस्ताको प्रक्षेपण यानका लागि ठूलो व्यास भएका स्टेनलेस स्टील ट्यांकी उत्पादन गर्दै चिनियाँ कम्पनी

Technology Khabar १९ बैशाख २०८२, शुक्रबार

काठमाडौं ।

चिनियाँ सरकारी स्वामित्वको रकेट निर्माता कम्पनीले आफ्नो नयाँ पुस्ताको प्रक्षेपण यानका लागि ठूलो व्यास भएका स्टेनलेस स्टील ट्यांकी उत्पादनमा प्रगति गरिरहेको छ।

चाइना एकेडेमी अफ लन्च भेइकल टेक्नोलोजी (सीएएलटी) ले गत एक महिनामा ५.० मिटर र १०.६ मिटर व्यास भएका स्टेनलेस स्टील इन्धन ट्यांकीको प्रोटोटाइप विकास गरेको घोषणा गरेको छ। तीमध्ये १०.६ मिटर व्यासको ट्यांकीले देशको सुपर हेवी–लिफ्ट रकेट योजनाका लागि ठूलो फड्को मारेको मानिएको छ।

चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) अन्तर्गतको प्रमुख रकेट डिजाइन तथा निर्माण संस्था सीएएलटीले यो प्रगति मार्च अन्त्य र अप्रिल अन्त्यमा सार्वजनिक गरेको हो।

“१०.६ मिटर व्यासको ट्यांकी निर्माण सफल हुनु चीनका लागि स्टेनलेस स्टीलबाट बनेका अल्ट्रा–ठूला ट्यांकी विकासमा ठूलो सफलता हो, र भविष्यमा हेवी–लिफ्ट यानका लागि यस्ता संरचनाहरूको विकासतर्फ पहिलो ठोस कदम हो,” सीएएलटी ले अप्रिल २९ मा आफ्नो वेइशिन सामाजिक सञ्जालमार्फत पोस्ट गरेको (तर पछि हटाइएको) विवरणमा उल्लेख गरिएको थियो।

ट्यांकीको निर्माण सकिएको घोषणाको अवसरमा सीएएलटी, चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) लगायत उच्च तहका अधिकारीहरू पनि उपस्थित थिए।

स्पेसन्युज डटकमका अनुसार १०.६ मिटर व्यास र ९.० मिटर उचाइको यो ट्यांकी भविष्यको पुन: प्रयोगयोग्य सुपर हेवी–लिफ्ट रकेट ‘लङ मार्च ९’ को विकास योजनाअन्तर्गतको भाग हो। यस रकेटलाई ठूला चन्द्र अभियान तथा अन्तरिक्ष पूर्वाधार निर्माणका लागि प्रयोग गरिनेछ, जसले चीनको प्रक्षेपण क्षमतामा आमूल परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यो मानवरहित मङ्गल अभियान योजनामा पनि समावेश गरिएको छ।

लङ मार्च ९ परियोजना हालका वर्षहरूमा एकपटक प्रयोग हुने रकेटबाट पुन: प्रयोगयोग्य स्टेनलेस स्टील रकेटतर्फ रूपान्तरण हुँदै आएको छ। यो परिवर्तन स्पेसएक्सको स्टारशिपमा देखिएको प्रगति पछिको प्रेरणादायक कदम हो।

स्टेनलेस स्टील ट्यांकीको प्रोटोटाइप विकासले यस नयाँ मार्गप्रति चीनको प्रतिबद्धता र प्रगति दुवै देखाएको छ। सीएएलटीले प्रारम्भमा लङ मार्च ९ लाई आंशिक रूपमा पुन: प्रयोगयोग्य बनाउने र पछि पूर्ण पुन: प्रयोगयोग्य प्रणालीमा रूपान्तरण गर्ने योजना बनाएको देखिन्छ।

सीएएलटीका अनुसार स्टेनलेस स्टीलमा ठूलो व्यास भएका क्रायोजेनिक इन्धन ट्यांकी बनाउन ठूलो सम्भावना छ, विशेषतः कम लागत, छिटो उत्पादन र पुन: प्रयोगयोग्य प्रणालीका लागि। तर एल्युमिनियम मिश्र धातुको तुलनामा स्टेनलेस स्टील ट्यांकी बनाउँदा मेशिनिङ, वेल्डिङ, डिफर्मेसन र स्प्रिङब्याकजस्ता समस्याहरू बढी देखिन्छन्, जसले निर्माण प्रविधिमा ठूलो प्राविधिक सुधार आवश्यक पारेको सीएएलटीले जनाएको छ।

५.० मिटर व्यासको ट्यांकी विकासको तत्काल प्रयोग स्पष्ट नभए पनि सीएएलटीले यसलाई उत्पादन तथा निर्माण प्रविधिको नवप्रवर्तनमा एक सफल कदम भनेको छ। सीएएलटीले अहिले ५.० मिटर व्यास भएको पहिलो चरण भएको लङ मार्च १० रकेट सिरिज विकास गरिरहेको छ, जसलाई चन्द्र अभियानमा प्रयोग गर्ने योजना बनाइएको छ।

सीएएलटीले मार्च २८ मा दिएको बयान अनुसार ५.० मिटर ट्यांकीको विकास ६० दिनभित्र डिजाईन र निर्माण गरेर सकिएको थियो, जुन डिजिटल प्रविधिमा आधारित छिटो दोहोरिने नवप्रवर्तन प्रक्रियाको सफलता मानिएको छ।

चीनको वाणिज्यिक अन्तरिक्ष क्षेत्रले पनि स्टेनलेस स्टील रकेट निर्माणमा चासो बढाइरहेको छ। सबैभन्दा उल्लेखनीय रुपमा, ल्यान्डस्पेस नामक कम्पनीले स्टेनलेस स्टीलबाट बनेको झुचुए–३ रकेट विकास गरिरहेको छ, जसले हालै भीटीओएल परीक्षण गरेको छ र सन् २०२५ को दोस्रो भागमा पहिलो कक्षीय प्रक्षेपण गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, लाइटइयर एक्स्प्लोरेसनले पनि हालै प्रि-ए चरणको लगानी संकलन गर्दै स्टेनलेस स्टील रकेट संरचना विकास गरिरहेको छ भने स्पेस एपोक नामक कम्पनीले पनि स्टेनलेस स्टील रकेटको विकास गरिरहेको छ।

प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया