
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाका बारेमा अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना संप्रेषण भएको उल्लेख गरेको छ।
बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै कुनैपनि भ्रमको पछि नलाग्न र यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म आयोजना हुने परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जानकारी गराएको हो।
“बोर्डको आधिकारिक अन्य कुनै Facebook page नभएको बेहोरा समेत जानकारी गराउँदै बोर्डको आधिकारिक सूचना बोर्डले आफ्नो Website: https://neb.gov.np मार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत आधिकारिक सूचना प्रवाह गरिने हुँदा बोर्डको सूचना प्राप्त गर्न अन्य स्रोतबाट प्रवाह हुने सूचनामा भर नपरी बोर्डको आधिकारिक website मार्फत प्रवाह हुने सूचनाबाट मात्र जानकारी लिनुहुन समेत अनुरोध छ,” सूचनामा भनिएको छ।
परीक्षा सञ्चालनका सम्बन्धमा सम्बन्धित निकायहरूलाई यस पूर्व नै आवश्यक पत्राचार गरिसकिएकोले सम्बन्धित निकायहरूबाट परीक्षा सञ्चालनको पूर्व तयारीका बाँकी सम्पूर्ण कार्यहरू सम्पन्न गरी/गराई तोकिएको मितिमा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण वातावरणमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ।
यसअघि वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुने भनिएकोमा शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनका कारण र प्रधानमन्त्रीको निर्देशनअनुसार बोर्डले वैशाख २१ गतेदेखि सञ्चालन हुने जानकारी गराएको थियो।
बुधबार, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घ बिच ९ बुँदे सहमति भएसँगै शिक्षकहरुले आन्दोलन स्थगित गरिसकेका छन्।
प्रकाशित: १८ बैशाख २०८२, बिहीबार