Technology Khabar ५ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहमा वैज्ञानिक खोजको धमाका गरिरहेको छ। रोभरले विभिन्न प्रकारका ढुंगाहरू फेला पारेको छ, जसले वैज्ञानिकहरूलाई ग्रहको प्राचीन इतिहासको झलक दिइरहेको छ।
पर्सिभेरन्स अहिले जेजेरो क्रेटरको किनारमा रहेको पहाड, ढुंगाका थुप्रा र चट्टानी भागहरू अन्वेषण गरिरहेको छ। यो क्रेटर उत्तरी मंगल भूमध्य रेखा नजिकको एउटा कचौराजस्तो पानी सुकेको भाग हो, जुन अर्बौँ वर्षअघि ताल भएको विश्वास गरिन्छ।
स्पेस डटकमका अनुसार गत डिसेम्बरमा क्रेटरको पश्चिमी किनारमा पुगेपछि रोभरले ” विच हेजल हिल” भनिने एउटा अग्लो ढलानमा ध्यान केन्द्रित गरेको छ। यो ठाउँमा मंगल ग्रहको पुरानो मौसमबारे महत्वपूर्ण संकेत हुनसक्ने अनुमान गरिएको छ।
केवल केही महिनामै कार आकारको रोभरले पाँच वटा ढुंगाका नमुना सङ्कलन गरेको छ, सातवटाको विस्तृत विश्लेषण गरेको छ, र थप ८३ वटा ढुंगालाई लेजरद्वारा टाढाबाट अध्ययन गरेको छ। नासाका अनुसार यो रोभरले चार वर्षअघि मंगलमा अवतरण गरेदेखि हालसम्मको सबैभन्दा तीव्र वैज्ञानिक तथ्याङ्क सङ्कलन हो।
नासाको जेट प्रोपल्सन ल्याबमा कार्यरत परियोजना वैज्ञानिक केटी मोर्गन भन्छिन्, “अघिल्लो वैज्ञानिक अन्वेषणहरूमा नयाँ र वैज्ञानिक रूपमा विशेष ढुंगा फेला पार्न महिनौँ लाग्थ्यो। तर यहाँ क्रेटरको किनारमा रोभर जहाँ जाँदा पनि रोचक ढुंगा भेटिन्छ। यो हामीले आशा गरेभन्दा धेरै राम्रो भएको छ।”
क्रेटरको पश्चिमी किनार वैज्ञानिकहरूको लागि निकै महत्त्वपूर्ण सावित भएको छ। यहाँ यस्ता धेरै चट्टानहरू छन् जुन अर्बौँ वर्षअघि उल्कापिण्डको ठोक्काइबाट सतह मुनिबाट माथि आएका थिए — सम्भवतः जेजेरो क्रेटर निर्माण गराउने ठोक्काइ पनि यिनैमध्ये एक हुन सक्छ।
विशेष ध्यान खिचेको एउटा नमुना हो —”सिल्भर माउन्टेन” — जुन रोभरले पहिलो पटक क्रेटर को किनारबाट सङ्कलन गरेको हो। नासाका अनुसार यो अनौठो चट्टान झन्डै ३.९ अर्ब वर्ष पुरानो नोअचियन कालको हुन सक्छ। यही कालमा मंगलमा ठूलो मात्रामा उल्कापिण्ड ठोक्किएका थिए।

फेब्रुअरीमा रोभरको आधिकारिक एक्स (पूर्व ट्विटर) खाताबाट गरिएको पोस्टमा भनिएको थियो, “मेरो २६औं नमुना ‘ सिल्भर माउन्टेन ‘ मा यस्तो बनावट छ, जुन यसअघि कहिल्यै देखिएको थिएन।”
त्यहाँबाट धेरै टाढा नभएको ठाउँमा, रोभरले सर्पेन्टाइन खनिजहरू भएको ढुंगा पनि फेला पारेको छ। यस्ता खनिजहरू प्रायः पानी र ज्वालामुखीय ढुंगाबीचको प्रतिक्रिया हुँदा बन्ने गर्छन्। वैज्ञानिकहरूका अनुसार, यस्तो प्रक्रियाले कहिलेकाहीँ हाइड्रोजन उत्पादन गर्छ, जुन पृथ्वीमा जीवको लागि ऊर्जा स्रोत हुन सक्छ।
“पछिल्ला चार महिना विज्ञान टोलीका लागि निकै उत्साहजनक रहेका छन्,” मोर्गन भन्छिन्, “र हामीलाई अझै लाग्छ विच हेजल हिलले हामीलाई थप जानकारी दिन सक्छ।”
“क्रेटर किनारहरू — तपाईंले त मन पराउनैपर्छ,” उनले थपिन्।
वैज्ञानिकहरू पर्सिभेरन्सले सङ्कलन गरेका नमुनाहरू पृथ्वीमा ल्याएर मंगलमा कुनै बेला जीवन थियो वा थिएन भन्ने पत्ता लगाउन चाहन्छन्। तर नासाको मार्स स्याम्पल रिटर्न मिशनको भविष्य अझै अनिश्चित छ। किनभने यो मिशन जटिल, प्रविधिमैत्री र खर्चिलो छ।
हालसम्म लागत ११ अर्ब डलरसम्म पुग्ने अनुमान गरिएको छ र नमुना फिर्ता ल्याउने म्याद पनि सन् २०४० भन्दा पहिले सम्भव देखिएको छैन। यसपछि नासा ले योजनाको पूर्ण पुनरावलोकन थालेको छ र उद्योग तथा शैक्षिक संस्थाहरूबाट नयाँ प्रस्ताव आह्वान गरेको छ, ताकि मिशनलाई सस्तो र छिटो बनाइयोस्। पुनःनिर्धारित योजनाको निर्णय सन् २०२६ को मध्यतिर मात्रै हुने अपेक्षा गरिएको स्पेस डटकमले उल्लेख गरेको छ।
प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार