सामाजिक सञ्जाललाई समाज भाँड्ने हतियार नबनाउन प्रेस काउन्सिलको आग्रह

  • Technology Khabar | २९ चैत्र २०८१, शुक्रबार
सामाजिक सञ्जाललाई समाज भाँड्ने हतियार नबनाउन प्रेस काउन्सिलको आग्रह

काठमाडौं ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज भाँड्ने हतियार सामाजिक सञ्जाललाई नबनाउन सबै प्रयोगकर्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल प्रयोग हुने सञ्चार माध्यमसहितमा गलत र भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको र त्यसले देशलाई पछाडि पार्ने काम गरेकोमा उनको असन्तुष्टि थियो।

प्रेस काउन्सिलमा बिहीबार आयोजित अभिमुखीकरणमा अध्यक्ष बस्नेतले समाधानमुखी रचनात्मक पत्रकारिता हुन सके मात्र अहिलेको पत्रकारितामा सुधार आउने बताए। उनले भने, “सामाजिक सन्जालको गलत र नियोजित प्रयोगले मिडियामाथि नै हिलो छ्याप्ने काम भएको छ।”

गोरखापत्र संस्थानका निमित्त कार्यकारी सम्पादक केपी गौतम, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले पत्रकार आचारसहिता र विभिन्न सञ्चार निर्देशिकाबारे सहजीकरण गरेका थिए।

गौतमले सामाजिक सन्जाल र सार्वजनिक सञ्चार माध्यम (मिडिया) को भेद मनन गरी मिडियाकर्मीले पत्रकार आचारसंहिता पालना गर्नुपर्ने सुझाए। त्यसो नहुँदा अनि सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुँदा अहिले पत्रकारिताप्रतिको धारणा नै नकारात्मक देखिएको उनको धारणा थियो। उनले भने, “पत्रकार आचारसंहिता पालना गरेको छ कि छैन भनेर हमेसा ख्याल गर्नु पर्छ।”

लुइँटेलले डिजिटल सञ्चार माध्यम संयमित र विश्वसनीय हुन जरुरी भएको उल्लेख गर्दै त्यसका लागि सञ्चारकर्मी स्वयं जागरुक हुनुपर्ने बताए।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...