निसानले आफ्नो एडभान्स ड्राइभर असिस्टेन्स सिस्टममा वेभको सेल्फ-ड्राइभिङ सफ्टवेयर प्रयोग गर्ने

  • Technology Khabar | २९ चैत्र २०८१, शुक्रबार
निसानले आफ्नो एडभान्स ड्राइभर असिस्टेन्स सिस्टममा वेभको सेल्फ-ड्राइभिङ सफ्टवेयर प्रयोग गर्ने

काठमाडौं ।

निसानले वेभको सेल्फ-ड्राइभिङ सफ्टवेयर २०२७ देखि आफ्नो एडभान्स ड्राइभर असिस्टेन्स सिस्टममा प्रयोग गर्ने जनाएको छ। यो निर्णय १.३ अर्ब डलरभन्दा बढी लगानी पाएको चर्चित बेलायती स्टार्टअप वेभको लागि महत्वपूर्ण मानिएको छ। यो लगानी एनभिडिया, माइक्रोसफ्ट सफ्टब्याङ्क ग्रुप र उबरजस्ता ठूला प्रविधि कम्पनीहरूले गरेका हुन्।

निसानले वेभको सफ्टवेयरसँगै एक अज्ञात आपूर्तिकर्ताबाट लिइएको लाइडारसहितका सेन्सरहरू पनि आफ्नो प्रोपाइलट नामक एडीएएस प्रणालीमा समावेश गर्ने जनाएको छ। जापानी अटोमोबाइल निर्माता निसानले यो प्रणालीले “एडभान्स टक्कर टार्ने क्षमतासहितको नयाँ स्तरको स्वचालित ड्राइभिङ मापदण्ड” स्थापना गर्ने दाबी गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।

निसानका अनुसार यो प्रणाली २०२७ सम्ममा ठूलो संख्यामा उत्पादनका लागि तयार हुनेछ र यो स्तर २ को प्रणाली हुनेछ जसले ड्राइभरको निगरानीमा काम गर्नेछ। कम्पनीले यो प्रणाली कुन मोडेलमा उपलब्ध हुनेछ भन्ने खुलाएको छैन। सोसाइटी अफ अटोमोटिभ इञ्जिनियर्सको परिभाषा अनुसार, स्तर २ प्रणालीले स्टियरिङ र ब्रेकिङजस्ता धेरै ड्राइभिङ कार्यहरू स्वतः गर्न सक्छ तर सधैँ ड्राइभरको नियन्त्रण चाहिन्छ।

२०१७ मा स्थापना भएको वेभले आफ्ना सेल्फ-लर्निङ प्रणालीका कारण लगानीकर्ता र उद्योगको ध्यान तानेको छ। यस प्रणालीले नियममा आधारित नहुई आफैँ सिक्ने तरिकाबाट काम गर्छ, जुन टेस्लाको तरिकासँग मिल्दोजुल्दो छ। वेभले “आइज अन” सहायता प्राप्त ड्राइभिङ र “आइज अफ” पूर्ण रूपमा स्वचालित ड्राइभिङ प्रणालीका लागि डेटा-आधारित सिकाइ प्रविधि विकास गरेको छ।

टेस्लासँग फरक रूपमा, वेभले आफ्नो “एम्बडीड एआई” सफ्टवेयर अटोमोबाइल निर्माता र अन्य प्रविधि कम्पनीहरूलाई बेच्ने योजना बनाएको छ।

वेभको सेल्फ-लर्निङ प्रविधि विशेषगरी अटोमेकरहरूका लागि आकर्षक मानिन्छ किनभने यो विशेष सेन्सर वा एचडी नक्शामा निर्भर हुँदैन। यसको मतलब वेभ को प्रणाली क्यामेरा र रडारजस्ता विद्यमान सेन्सरसँग काम गर्न सक्छ। प्रणालीले ती सेन्सरहरूबाट संकलित डेटा प्रयोग गरेर निर्णय लिन्छ।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...