
काठमाडौं ।
अल्फाबेटको स्वचालित गाडी कम्पनी वेमोले आउँदो सातादेखि जापानको टोकियोमा मानव चालकद्वारा सञ्चालन हुने परीक्षण सवारीमार्फत डाटा सङ्कलन सुरु गर्ने जनाएको छ। यो कम्पनीले अमेरिका बाहिर सार्वजनिक सडकमा आफ्ना गाडी सञ्चालन गर्न लागेको यो पहिलो पटक हो।
क्यालिफोर्नियामा आधारित यो स्वचालित ड्राइभिङ कम्पनीले टोकियोका मुख्य क्षेत्रहरूको नक्साङ्कन र स्थानीय पूर्वाधार तथा ड्राइभिङ शैलीको बुझाइका लागि २५ वटा ज्यागुअर-आई-पेस विद्युतीय गाडी प्रयोग गर्नेछ, जसमा चालकहरू हुने रोयटर्सले उल्लेख गरेको छ।
“यहाँको ड्राइभिङ वातावरण कस्तो फरक छ, के-कसरी यहाँको ड्राइभिङ अनौठो वा विशेष छ भन्ने कुरा बुझ्नु हामीलाई आवश्यक छ,” कम्पनीकी व्यवसाय विकास तथा रणनीतिक साझेदारी प्रमुख निकोल ग्याभलले टोकियोमा आयोजित कार्यक्रममा पत्रकारहरूसँग भनिन्।
कम्पनीले जापानी ट्याक्सी कम्पनी निहोन कोत्सु र मोबाइल ट्याक्सी एप सञ्चालक गो को सहकार्यमा परीक्षण तथा सर्भिस कार्य अघि बढाएको हो। गो मानिहोन कोत्सुको पनि केही स्वामित्व छ।
शुरुआती नक्साङ्कन चरण पूरा गरेपछि कम्पनीले स्टीयरिङ पछाडि चालक रहने तर गाडीले स्वतन्त्र रूपमा चल्ने स्वचालित सवारी परीक्षण अटोनोमस ड्राइभिङ टेस्ट अगाडि बढाउने योजना बनाएको ग्याभलले बताइन्। तर, यो प्रारम्भिक चरण कहिलेसम्म सकिने भन्ने बारे उनले केही खुलाइनन्।
“अहिलेलाई हामी परीक्षणमै केन्द्रित छौं,” उनले भनिन्। “दीर्घकालीन रूपमा हेर्दा हामी टोकियोमै व्यवसाय सञ्चालन गर्न चाहन्छौं।”
वेमोले प्रारम्भिक परीक्षण टोकियोका सात वटा वडाहरूमा गर्ने बताएको छ जसमा मिनाटो र शिबुया समेत पर्छन्।
प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार