Technology Khabar २९ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
मस्कले स्थापना गरेको कम्पनी एक्सएआईले आफ्नो बहुप्रतीक्षित मोडेल ग्रोक ३ लाई एपीआई मार्फत उपलब्ध गराएको छ। एक्सएआईले केही महिनाअघि ग्रोक ३ सार्वजनिक गरेको थियो, जुन ओपनएआई को जीपीटी-४ओ र गुगल को जेमिनी मोडेलको प्रतिस्पर्धी मानिन्छ।
ग्रोक ३ ले तस्बिरहरू विश्लेषण गर्न र प्रश्नहरूको उत्तर दिन सक्छ। यो मस्कको सामाजिक सञ्जाल एक्स का केही विशेषताहरूमा प्रयोग भइसकेको छ। उल्लेखनीय कुरा के छ भने एक्सले मार्चमा एक्सएआई लाई अधिग्रहण गरिसकेको छ।
टेकक्रञ्चका अनुसार एपीआई मा एक्सएआई ले ग्रोक ३ र ग्रोक ३ मिनी नामक दुई संस्करणहरू उपलब्ध गराएको छ, जसमा रिजनिङ अर्थात् तर्क गर्ने क्षमता रहेको बताइएको छ।
मूल्य विवरण यस्तो छ:
ग्रोक ३: इनपुट टोकनको लागि प्रति १० लाख टोकन $३ र आउटपुट टोकनको लागि १५ डलर
ग्रोक ३ मिनी: इनपुटको लागि ०.३० डलर र आउटपुटको लागि ०.५० डलर
तीव्र गतिको संस्करणको मूल्य अझ महँगो छ:
ग्रोक ३: इनपुट ५ डलर र आउटपुट २५ डलर
ग्रोक ३ मिनी: इनपुट ०.६० डलर र आउटपुट ४ डलर
ग्रोक ३ को मूल्य प्रतिस्पर्धी कम्पनीहरूभन्दा सस्तो छैन। यो एन्थ्रोपिकको क्लाउड ३.७ सनेटको मूल्यसँग मेल खान्छ, तर गुगल को जेमिनी २.५ प्रो भन्दा महँगो छ, जसले एआई परीक्षणहरूमा उच्च अंक ल्याएको छ।
ग्रोक ३ को सन्दर्भमा केही आलोचना पनि उठेका छन्। केही प्रयोगकर्ताहरूले एपीआईको “कन्टेक्स्ट विण्डो” (एकपटकमा प्रोसेस गर्न सक्ने टोकनको संख्या) १३१,०७२ टोकन मात्र रहेको बताएका छन् — जुन लगभग ९७,५०० शब्द बराबर हो। जबकि एक्सएआई ले फेब्रुअरीमा ग्रोक ३ ले १० लाख टोकन सपोर्ट गर्ने बताएको थियो।
मस्कले करिब दुई वर्षअघि ग्रोकको घोषणा गर्दा यसलाई “अनफिल्टर्ड” र “एण्टी वोक” एआईको रूपमा प्रस्तुत गरेका थिए — जसले अन्य एआईहरूले नगर्ने प्रश्नहरूको उत्तर दिने वाचा गरिएको थियो।
केही हदसम्म त्यो वाचा पूरा भएको थियो। ग्रोक वा ग्रोक २ लाई अश्लील भाषा प्रयोग गर्न भनिएको खण्डमा तिनले सहर्ष प्रयोग गर्थे।
तर ग्रोक ३ भन्दा अघिका मोडेलहरू राजनीतिसँग सम्बन्धित विषयहरूमा स्पष्ट धारणा दिन हिच्किचाउँथे। एक अध्ययनले ग्रोक ले ट्रान्सजेन्डर अधिकार, विविधता कार्यक्रम, र असमानता जस्ता मुद्दामा बायाँपन्थी धारणा देखाएको पत्ता लगाएको थियो।
मस्कले यो व्यवहारलाई प्रशिक्षणका लागि प्रयोग गरिएका सार्वजनिक वेबसाइटहरूमा आधारित डाटा कारण भएको बताउँदै ग्रोकलाई राजनीतिक रूपमा “न्यूट्रल” बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
यद्यपि ट्रम्प वा मस्कलाई समेट्ने आलोचनात्मक सामग्री केही समयको लागि हटाएकोजस्ता विवादित घटनाहरू बाहेक, एक्सएआई ले मोडेल तहमा आफ्नो लक्ष्य प्राप्त गरेको छ कि छैन भन्ने अझ स्पष्ट नभइसकेको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार