
काठमाडौं ।
सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ परेको छ।
ललितपुर महानगरपालिका-४ शान्तपूर्व मार्ग बस्ने २४ वर्षीय आयुष अधिकारीलाई पूर्व प्रेमीकालाई ब्ल्याकमेल गरेको आरोपमा मंगलबार साइबर ब्यूरोले पक्राउ गरेको हो।
सामाजिक सञ्जाल मार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी पीडित युवतीले आफ्नो प्रेमीलाई पठाएको गोप्य भिडियो सम्बन्ध छुटेपछि प्रेमीको साथीले दुरूपयोग गरी पैसा माग्ने, आपत्तिजनक शब्दहरू प्रयोग गरी शारीरिक सम्बन्ध राख्न बोलाउने र नआएमा उक्त भिडियो सामाजिक सञ्जालमा राखी भाइरल गरिदिन्छु भनी मानसिक तनाव दिएको प्रहरीले उल्लेख गरेको छ।
यसैगरी, हैरानी दिने तथा अमर्यादित कार्य गर्ने गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न अधिकारीलाई पक्राउ गरेको जनाएको छ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: २८ चैत्र २०८१, बिहीबार