Technology Khabar २७ चैत्र २०८१, बुधबार
काठमाडौं ।
हिजोआज अन्तरिक्षमा आधारित सेवाहरूमा साइबर आक्रमण बढ्दै गएको पाइएको छ। स्याटेलाइट टिभी प्रसारण ह्याकिङदेखि लिएर नेभिगेसन सिस्टममा जामिङ र स्पुफिङसम्म, अन्तरिक्षमा आधारित सेवाहरूमा आक्रमणको घटनाहरू बढ्दै गएका छन्। यी आक्रमणहरू नियन्त्रणमा राख्न विशेषज्ञहरू समाधान खोज्न दौडिरहेका छन्।
गत वर्ष डिसेम्बर २५ मा अजरबैजानी विमान चेच्नियाको राजधानी ग्रोज्नी जाँदै गर्दा काजाकिस्तानमा दुर्घटनाग्रस्त भयो। विमान जीपीएस जामिङको क्षेत्रमा प्रवेश गरिसकेको थियो। पछि रिपोर्टहरूमा उक्त विमान युक्रेनी ड्रोनहरूलाई लक्षित गर्दै गरिएको रुसी आक्रमणको छर्राबाट क्षतिग्रस्त भएको बताइएको थियो।
तर विमान पहिलेदेखि नै गम्भीर समस्यामा थियो—गहिरो कुहिरोभित्र पसेको र स्याटेलाइट पोजिसनिङ डाटा गुमाएको थियो। यस दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो।
स्विट्जरल्यान्डको ईटीएच जुरिचकी साइबर सुरक्षा अनुसन्धानकर्ता क्लेमेन्स प्वारिएका अनुसार, यो घटना सतहमा देखिएको मात्र हो र यसलाई बढ्दो खतरनाक स्थितिको संकेतका रुपमा लिनुपर्छ।
सन् २०२४ मा मात्र ३ लाख १० हजारभन्दा बढी उडानहरू जीपीएस हस्तक्षेपबाट प्रभावित भएका थिए। यीमध्ये अधिकांश रूस र मध्यपूर्व आसपासका क्षेत्रहरूमा देखिएका थिए। उदाहरणका लागि, एस्टोनियाको टार्टु विमानस्थलमा सन् २०२४ को धेरै महिनासम्म नागरिक उडानहरू स्थगित गरिए, किनभने विमानहरू सुरक्षित अवतरण गर्न नसक्ने स्थिति बनेको थियो।
स्पेस डटकमका अनुसार यो अवस्थाले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ आईकाओलाई मार्च २५ मा एक विज्ञप्ति जारी गर्न बाध्य बनायो, जसमा “उड्डयन, समुद्री तथा सञ्चार सेवा”हरूमा अवरोध रोक्न आवश्यक आवृत्तिहरूको संरक्षण तत्काल मजबुत पार्न” सबै राष्ट्रहरूलाई आग्रह गरिएको थियो।
आईकाओका महासचिव जुआन कार्लोस सालाजारले भने, “रेडियो नेभिगेसन स्याटेलाइट सेवा अवरोधले तत्काल प्रभावित क्षेत्रभन्दा धेरै परसम्म असर पुर्याउन सक्छ र धेरैवटा उडान क्षेत्रहरूमा सुरक्षा जोखिम पैदा गर्न सक्छ।”
यो आह्वानमा अन्तर्राष्ट्रिय दूरसञ्चार यूनियन (आईटीयू) र संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय म्यारिटाइम संघ (आईएमओ) पनि सहभागी भए।
प्वारिएका अनुसार, स्याटेलाइट नेभिगेसन मात्र नभई अन्य अन्तरिक्षमा आधारित सेवाहरू पनि त्यत्तिकै संवेदनशील छन्।
सन् २०२४ को अप्रिलमा रुसी ह्याकहरूले वाल्ट डिज्नी बेबी टीभी च्यानल ह्याक गरेर सामान्य कार्टुनहरूको साटो रूसी सैन्य परेडको भिडियोहरू प्रसारण गरे, जुन फ्रान्सेली स्याटेलाइट सञ्चालक ईयूटेलस्याटका जियोस्टेशनरी स्याटेलाइटमार्फत युरोपभरि देखिएको थियो। युक्रेनका धेरै स्याटेलाइट टिभी च्यानलहरू पनि ह्याक गरिएका थिए।
त्यसपछि एस्टोनिया, लाट्भिया, लिथुएनिया, पोल्यान्ड, युक्रेन, फिनल्याण्ड र फ्रान्ससहित आठ युरोपेली देशहरूले आईटीयूमा रूसविरुद्ध उजुरी दर्ता गराए।
प्वारिए भन्छिन्, “युद्ध सुरु हुनु अगाडि स्याटेलाइट सेवा प्रदायकहरूले आफूहरूको प्रणालीलाई धेरै सुरक्षित मान्दथे र इलेक्ट्रोनिक हस्तक्षेपविरुद्ध पर्याप्त स्रोत लगानी गर्दैनथे।”
जीपीएसको सर्वव्यापक प्रयोग
अमेरिकाको ग्लोबल पोजिशनिङ सिस्टम (जीपीएस) र अन्य नेभिगेसन स्याटेलाइट प्रणालीहरूले दिने स्थान तथा समयसम्बन्धी सटीक सिग्नल आजको दैनिक प्रविधिमा गहिरोसँग जडित छन्—जसमा गुगल म्याप्स मात्र नभएर विश्वभर बैंकिङ प्रणाली समायोजन, समुद्री तेल ड्रिलिङ, पावर ग्रिड व्यवस्थापनजस्ता कार्यहरू पनि पर्दछन्।
यी प्रणालीहरूप्रति भर पर्नु आज मानव जीवनका लागि अनिवार्य भइसकेको छ, तर सुरक्षा जोखिमहरू तीव्र रूपमा बढिरहेका स्पेस डटकमले उल्लेख गरेको छ।
जीपीएस गुम्दा के गर्ने? चिपमा अडिएको नयाँ नेभिगेसन प्रविधि र बढ्दो स्याटेलाइट हस्तक्षेपको चुनौती
“सारा संसार अहिले जीपीएसमा भरिएको छ,”एनेल्लो फोटोनिक्सका सीईओ मारियो पानिचियाले भने। “तर जब तपाईंले जीपीएस हराउनु हुन्छ, तपाईंले कसरी नेभिगेट गर्नुहुन्छ?”
अमेरिकाको क्यालिफोर्नियामा आधारित एनेल्लो फोटोनिक्स त्यस्ता कम्पनीहरू मध्ये एक हो जुन पछिल्ला वर्षहरूमा तीव्र रूपमा देखा परेका छन्, जसले जीपीएसको कमजोरीलाई समाधान गर्न सस्तो, छिटो र भरपर्दो प्रविधिहरूको खोजी गरिरहेका छन्।
जीपीएस बिना पनि चल्ने प्रणाली
एनेल्लोले विकास गरेको चिप-आधारित इनर्सियल नेभिगेशन सिस्टम (आईएनएस) ले जीपीएसको सहायकको रूपमा काम गर्छ र जीपीएस सिग्नल जाम वा स्पूफिङ (नक्कली सिग्नल) हुँदा स्वतः सञ्चालनमा आउँछ।
आईएनएस प्रणालीहरू सैन्यहरूमा धेरै वर्षदेखि प्रयोग हुँदै आएका भए पनि तिनीहरू महँगो, ठूला र विशिष्ट उपकरणहरूका लागि मात्र उपयुक्त हुन्थे।
“सैन्य पनडुब्बीको एक आईएनएस प्रणालीको लागत २ मिलियन डलरसम्म पर्न सक्छ र त्यो तपाईंको डेस्क जत्रो ठूला हुन्छ,” पानिचिया भन्छन्।
तर एनेल्लोले लेजर र एक्सेलेरोमीटरबाट प्राप्त डाटालाई प्रयोग गरेर यात्रा गरिएको मार्ग ट्र्याक गर्न सक्ने प्रणालीलाई चिपमा अट्ने गरी सानो र सस्तो बनाएको छ। जीपीएस सिग्नल नभएको अवस्थामा पनि यो प्रणालीले सुरुवात बिन्दुबाट दूरी ट्र्याक गर्न सक्छ, र जीपीएस सिग्नलसँग मेल नखाने अवस्था देखाएमा स्पूफिङको चेतावनी दिन सक्छ।
टेस्टका क्रममा १०० किलोमिटर लामो यात्रा गर्दा प्रणालीले गन्तव्यसम्म पुग्दा केवल १०० मिटर (३३० फिट) मात्र त्रुटि देखाएको थियो।
अन्य जीपीएस विकल्पहरू
जीपीएसको विकल्पको रूपमा अन्य समाधानहरू पनि विकास भइरहेका छन्:
• ईलोरियन प्रणाली (अमेरिकी नेभीद्वारा विकास गरिएको), जुन न्यून आवृत्तिको रेडियो सिग्नलमा आधारित हुन्छ।
• लो अर्थ अर्बिट (एलईओ ) मा रहेका स्याटेलाइटहरू, जसले जीपीएस भन्दा बलियो सिग्नल दिन सक्छन्।
• कृत्रिम बुद्धिमत्ता (एआई) आधारित प्रणालीहरू जसले ड्रोनलाई जमिनका ल्यान्डमार्क र स्याटेलाइट इमेजहरूसँग तुलना गरेर गन्तव्यसम्म पुर्याउँछन्।
सञ्चारमा हस्तक्षेप र टेलिभिजन ह्याकिङ
टेलिकम्युनिकेसन स्याटेलाइटहरू चलाउने कम्पनीहरूले पनि अब आफ्नो सिग्नलको सुरक्षामा विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ। सैन्य र सरकारी स्याटेलाइटहरू विशेष तरंगर एन्क्रिप्सनद्वारा सुरक्षित भए पनि बेबी टीभीजस्तो बालबालिकाको च्यानल ह्याक हुनु यो सुरक्षितताको भ्रम भत्किएको संकेत हो।
“प्रसारणकर्ताहरूले स्पेक्ट्रम मोनिटरिङ प्रयोग गरेर हस्तक्षेपको पहिचान र स्थान पत्ता लगाउन सक्छन्,” क्लेमेन्स प्वारिए भन्छिन्। “स्याटेलाइट निर्माणको क्रममा डाइरेक्शनल एन्टेना, फेज्ड एरे एन्टेना वा हार्डेन्ड कम्पोनेन्ट अर्थात् मजबुत बनाइएका वस्तुहरुजस्ता सुरक्षात्मक उपायहरू समावेश गर्न सकिन्छ।”
तीव्र गतिमा बढ्दो खतरा
ओपीएस ग्रुपले सन् २०२३ मा प्रकाशित गरेको रिपोर्टअनुसार, पछिल्ला तीन वर्षमा उड्डयनसँग सम्बन्धित जीपीएस स्पूफिङका घटनाहरू ४०० प्रतिशतले बढेका छन्। सन् २०२४ मा मात्रै दैनिक १३५० वटा उडान जीपीएस हस्तक्षेपबाट प्रभावित भएका थिए, जबकि सन् २०२१ मा यो संख्या दैनिक औसतमा २०० मात्र थियो।
अन्य क्षेत्रहरूमा स्याटेलाइट सेवा अवरोधको तथ्यांक कम उपलब्ध छन्, तर विशेषज्ञहरूमा सहमति छ—स्थिति झनै बिग्रँदै जानेछ।
धेरै महँगो पर्ने सम्भावित नोक्सानी
यूके स्पेस एजेन्सीले सन् २०२३ मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार, यदि जीएनएसएस प्रणाली (जीपीएस जस्ता) सात दिनका लागि बन्द भयो भने बेलायतको अर्थतन्त्रलाई £७.६ अर्ब (अहिलेको विनिमय दरमा लगभग ९.८ अर्ब डलर) बराबरको नोक्सानी पुग्नेछ। यो नोक्सानी समुद्री तथा हवाई यातायात, सडक यातायात, कृषि, ऊर्जा र वित्त क्षेत्रसम्म फैलिनेछ।
जीपीएस लगायतका स्याटेलाइट सेवाहरूमा निर्भरता आज अपरिहार्य जस्तै भइसकेको छ। तर, ती सेवामा बढ्दो हस्तक्षेपले अब हामीलाई वैकल्पिक प्रविधिको खोजी र सुदृढ सुरक्षा संरचनाको आवश्यकता औंल्याएको छ। एनेल्लोको जस्तो चिपमा आधारित आईएनएस प्रणाली अब सैन्य मात्र होइन, नागरिक प्रयोगका लागि पनि आशाजनक उपाय बन्न सक्छ।
प्रकाशित: २७ चैत्र २०८१, बुधबार