ट्रम्पको करका कारण एप्पलले बजार मूल्यमा गुमायो लगभग ३०० अर्ब अमेरिकी डलर

  • Technology Khabar | २२ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रमुख कर घोषणाप्रति लगानीकर्ताहरूले प्रतिक्रिया जनाएपछि एप्पलको शेयर लगभग ९ प्रतिशतले घटेको छ।

यो सन् २०२० को मार्चको महामारी पछि कम्पनीको मूल्यमा भएको सबैभन्दा ठूलो दैनिक गिरावट भएको बताइएको छ र केही घण्टामै यसको बजार पूँजीकरणबाट २९३ अर्ब अमेरिकी डलर भन्दा बढी घटेको उल्लेख गरिएको छ।

एप्पलका साथै माइक्रोसफ्ट, अमेजन, गुगल, टेस्ला र मेटा लगायतका अन्य प्रमुख प्रविधि कम्पनीहरू पनि करबाट प्रभावित भएका छन्। उक्त कम्पनीहरूले आफ्ना अधिकांश उपकरणहरू चीन, भियतनाम र भारतमा उत्पादन गर्ने गरेका छन्।

ट्रम्पको करले अब अमेरिकामा आयात गर्ने लागतमा उल्लेखनीय वृद्धि गर्ने टेलिग्राफले उल्लेख गरेको छ।

मेटाको शेयर ८ प्रतिशतले, अमेजन र टेस्ला ९ प्रतिशतले, गुगल ४ प्रतिशतले घटेको छ भने माइक्रोसफ्टले ३ प्रतिशतको गिरावट भोगेको छ।

सीएफआरए रिसर्चका विश्लेषक एन्जेलो जिनो भन्छन् कि एप्पलले आफ्नो आपूर्ति शृङ्खलामा दक्षता सुधार गरेर र उपभोक्ताहरूसँग लागत बाँडेर शुल्कको प्रभावलाई कम गर्ने प्रयास गर्न सक्छ।

आम्दानीमा उल्लेखनीय असर नपारी “लागत वृद्धिको ५ देखि १० प्रतिशत भन्दा बढीलाई अन्तिम मूल्यमा स्थानान्तरण गर्न गाह्रो हुनेछ” भनि उनले चेतावनी दिएको टेलीग्राफले उल्लेख गरेको छ।

 

प्रकाशित: २२ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया