नासाको पार्कर सोलार प्रोब दोस्रोपटक ‘निडर’ भएर सूर्यको निकै नजिकबाट यसरी उड्यो

  • Technology Khabar | १७ चैत्र २०८१, आईतवार
नासाको पार्कर सोलार प्रोब दोस्रोपटक ‘निडर’ भएर सूर्यको निकै नजिकबाट यसरी उड्यो

काठमाडौं ।

नासाको पार्कर सोलार प्रोबले सूर्यको दोस्रो निकटतम उडान सफलतापूर्वक सम्पन्न गरेको छ। कार जत्रो आकारको यो अन्तरिक्षयान शनिबार (मार्च २२) सूर्यको सतहबाट मात्र ८० लाख माइल (६१ लाख किलोमिटर) नजिक पुग्यो।

यसक्रममा यसको गति प्रति घण्टा ४.३ लाख माइल (६.९ लाख किलोमिटर) थियो, जुन गत क्रिसमस इभमा बनाएको ऐतिहासिक कीर्तिमानसँग मेल खान्छ।

यस नजिकिएको बेला प्रोब स्वतन्त्र रूपमा सञ्चालनमा रह्यो। यसका चार वैज्ञानिक उपकरणहरूले सूर्यको सबैभन्दा बाहिरी तह कोरोना भित्रैबाट सौर्य हावा सम्बन्धी डाटा संकलन गर्न पहिले नै प्रोग्राम गरिएको थियो। मंगलबार (मार्च २५) प्रोबले पृथ्वीमा संकेत पठाउँदै आफू स्वस्थ रहेको र सबै प्रणालीहरू सामान्य रूपमा सञ्चालनमा रहेको जानकारी गराएको नासाले जनाएको छ।

“यो उडान, जुन सोही दूरी र गतिमा गरिएको दोस्रो अवसर हो, अन्तरिक्षयानलाई सौर्य हावा र त्यससँग सम्बन्धित गतिविधिबारे अनुपम वैज्ञानिक मापन गर्न मद्दत गर्छ,” नासाको विज्ञप्तिमा उल्लेख छ।

स्पेस डटकमका अनुसार प्रोबले संकलन गरेको नजिकको डाटाले अन्तरिक्ष मौसम पूर्वानुमान गर्न मद्दत गर्ने वैज्ञानिकहरू आशा गर्छन्। साथै, सूर्यको कोरोना किन यसको सतहभन्दा सयौं गुणा तातो हुन्छ भन्ने जस्ता रहस्यहरू उजागर गर्न पनि यो अनुसन्धान उपयोगी हुनेछ।

“यो मिशनको अद्वितीय अनुसन्धानले सौर्य विज्ञानका पाठ्यपुस्तकहरू पुनःलेखन गरिरहेको छ, किनभने यो मानव निर्मित कुनै पनि वस्तुले अहिलेसम्म कहिल्यै नगएको ठाउँमा पुग्दैछ,” नासाका कार्यवाहक प्रशासक जेनेट पेत्रोले अर्को विज्ञप्तिमा भने।

प्रोबले हासिल गरेका कीर्तिमानले यसको विशेष गर्मी-प्रतिरोधी प्रणालीको प्रभावकारिता प्रमाणित गर्छ। यस प्रणालीले सूर्यको तीव्र तापबाट उपकरणहरूलाई सुरक्षित राख्छ जसका कारण तिनिहरुले सूर्यको सामग्री संकलनका लागि सोझै तारालाई सामना गरिरहेका बेला पनि अन्तरिक्षयानका इलेक्ट्रोनिक्स तथा वैज्ञानिक उपकरणहरू कोठाको तापक्रममै सञ्चालन हुन सक्छन्।

यस विशेष थर्मल प्रोटेक्सन प्रणाली र अन्य उड्डयन प्रविधिहरूको विकासमा योगदान दिने वैज्ञानिक तथा इन्जिनियरहरूको टोलीलाई हालै २०२४ को रोबर्ट जे. कोलियर ट्रफी पुरस्कार प्रदान गरिएको छ। यो टोली नासा, जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरी (मेरील्याण्ड) तथा देशभरका ४० अन्य संस्थाहरूका वैज्ञानिक तथा इन्जिनियरहरू सम्मिलित छन्।

“यो अद्भुत टोलीले ६० वर्षभन्दा बढी समयसम्म असम्भव मानिएको एउटा जटिल अन्तरिक्ष विज्ञान मिशनलाई सफलतापूर्वक साकार बनाएको छ,” जोन्स हप्किन्स एप्लाइड फिजिक्स ल्याबोरेटरीका निर्देशक राल्फ सेमेलले भने। “यस क्रममा, तिनीहरूले धेरै पुराना प्रविधिगत चुनौतीहरू समाधान गरे र हाम्रो देशको अन्तरिक्ष उडान क्षमतामा ठूलो प्रगति गरे।”

सन् २०१८ मा प्रक्षेपण गरिएको पार्कर सोलार प्रोबले यस वर्ष अर्को उडान गर्ने तालिका रहेको छ। यो आगामी जुन १९ मा झन्डै यही दूरी र गतिमा सूर्यतर्फ पुनः नजिकिने स्पेस डटकमले उल्लेख गरेको छ।

प्रकाशित: १७ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

मनास्लु क्षेत्रमा ड्रोनमार्फत निगरानी

  • Technology Khabar
  • १७ चैत्र २०८१, आईतवार