
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा आयात गरिने सबै कारहरूमा २५प्रतिशत शुल्क लगाउने निर्णय गरेका छन्, जसमा उत्तर अमेरिकी छिमेकी राष्ट्रहरूबाट आउने कारहरू पनि समावेश छन्।
उनले कार निर्माणका लागि प्रयोग हुने केही पार्ट्सहरूमा पनि २५ प्रतिशत शुल्क लगाएका छन्। यसले नयाँ र प्रयोगशुदा कारहरूको लागत बढाउने सम्भावना छ, तर यो निर्णय टेस्ला को लागि फाइदाजनक हुन सक्छ।
अर्बपति ईलन मस्कद्वारा सञ्चालित टेस्लाले हालका दिनहरूमा विभिन्न चुनौतीहरू सामना गरिरहेको छ। मस्कको दक्षिणपन्थी विचारधाराको समर्थन तथा विवादास्पद सरकारी विभाग डीओजीईगको उनको संलग्नताका कारण विश्वभर प्रदर्शनहरू भइरहेका छन्।
सन् २०२४ मा कम्पनीले मूल्य कटौती र प्रचारमार्फत बिक्री बढाउने प्रयास गरेको थियो, तर अझै पनि २०२३ भन्दा कम ईभी बिक्री गरेको थियो, र २०२५ को सुरुवात पनि कमजोर देखिएको टेकक्रञ्चले उल्लेख गरेको छ।
नयाँ शुल्कहरूले अमेरिकामा टेस्ला को प्रतिस्पर्धात्मक अवस्थालाई सुधार्न सक्छ। फ्रेमण्ट, क्यालिफोर्निया र अस्टिनका कारखानामा निर्माण गरिएका टेस्ला का गाडीहरूमा २५ प्रतिशत आयात कर लाग्ने छैन, किनकि यी कारहरू अमेरिका भित्रै उत्पादन गरिन्छन्।
टेस्लाले निर्माणका लागि आवश्यक २० प्रतिशत देखि ३० प्रतिशत पार्टपुर्जा आयात गर्ने भएकाले केही समस्या उत्पन्न हुन सक्ने चाहिँ देखिएको छ। मस्कले एक्समा प्रतिक्रिया दिँदै टेस्ला “पूर्ण रूपमा अछुतो नरहेको” र शुल्कको “महत्त्वपूर्ण” प्रभाव पर्ने बताएका छन्। तर, कम्पनीले लामो समयदेखि आफ्ना कारखानाहरू नजिक आपूर्ति शृङ्खला स्थापना गर्ने प्रयास गरिरहेको थियो, जसको अहिले फाइदा मिल्ने देखिन्छ।
अन्य कार निर्माता कम्पनीहरूको अवस्था टेस्ला भन्दा कमजोर छ। यस हिसाबले विशेष गरी विद्युतीय गाडीहरू उत्पादन गर्ने प्रतिस्पर्धी कम्पनीहरू प्रभावित हुनेछन्। फोर्डले अमेरिकामा बेच्ने ८० प्रतिशत कारहरू स्वदेशमै उत्पादन गर्छ तर मस्ट्याङ माच-ए र माभेरिक हाइब्रिडजस्ता लोकप्रिय मोडेलहरू मेक्सिकोमा बनाउँछ।
जेनेरल मोटर्सलेले ब्लेजर र इक्विनक्स ईभीहरु मेक्सिकोमै निर्माण गर्छ भने हुण्डाईले अमेरिकामा सफल हुँदै गएका आफ्ना ईभीहरू प्राय: दक्षिण कोरियाबाट आयात गर्छ।
टेस्ला जस्तै रिभियन र ल्युसिड मोटर्सले पनि आफ्ना ईभीहरु क्रमशः इलिनोई र एरिजोनामा निर्माण गर्ने भएकाले गाडीमा लाग्ने आयात करको असर तीव्र रूपमा महसुस गर्नुपर्ने छैन। तैपनि ती कम्पनीहरूले आयात गरिने पार्टपुर्जामा लाग्ने शुल्कको सामना गर्नुपर्नेछ, र उनीहरू हाल प्रत्येक ईभी बिक्री गर्दा घाटामा रहेकोले लागत वृद्धि झेल्न अझ कठिन हुन सक्छ।
प्रकाशित: १६ चैत्र २०८१, शनिबार