Technology Khabar १५ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल टेलिकमले जनताको गुनासा नआउने गरी गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन कोशी प्रदेश समितिको १२औँ प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले टेलिकमलाई स्तरोन्नति, विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्रीले भने, “टेलिकमसहित मुलुकका अन्य सार्वजनिक संस्था बलियो, गुणस्तरीय सेवा दिने र सक्षम भएमा राष्ट्रले समृद्धि हासिल गर्नेछ ।” उहाँले आगामी वैशाख १ गतेदेखि प्रदेश सरकारले मनाउने ‘पर्यटन भ्रमण वर्ष’को अवधिभर टेलिकमले आफ्नो ‘रिङटोन’मार्फत प्रदेशभरिका पर्यटकीयस्थलको जानकारी दिँदै विदेशी पर्यटकलाई अस्थायी सिम वितरण गरी सहयोग गर्न आग्रह गरे।
मुख्यमन्त्री कार्कीले प्रदेशका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्दै विकास र रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्दै यसका लागि प्रदेश लगानी सम्मेलनको आवश्यक प्रचारप्रसार गर्न सबैलाई आग्रह गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशीका अध्यक्ष घनश्याम खतिवडा र नेता विनोद ढकालले टेलिकमले कर्मचारीको हकहित र जनतालाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने सुझाव दिए।
सङ्गठनका प्रदेश अध्यक्ष सुमित ओझा, केन्द्रीय उपमहासचिव गोविन्द ढुङ्गानाले अधिवेशनले विगत कार्यको समीक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्यदिशा अवलम्बन गर्ने बताए। मुख्यमन्त्री कार्कीले सोही अवसरमा सेवानिवृत्त कर्मचारीलाई सम्मान गरेका थिए। रासस
प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार