आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

  • Technology Khabar | १२ चैत्र २०८१, मंगलवार
आइएमई ग्रुप र आइएक्सआइ कर्पको लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन
काठमाडौँ टेक्निकल स्कूल उद्घाटन काठमाडौँ, १२ चैतः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी मङ्गलबार काठमाडौँ टेक्निकल स्कूलको उद्घाटन गर्नुहुँदै । । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं ।

आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन्। रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे। सो अवसरमा उहाँले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए।

“प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ”, मन्त्री भण्डारीले भने। स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उनले बताए।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो स्कुल सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए। उनले सो स्कुलले हजारौँ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

“नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुआत गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो । यस स्कुलले विशेषगरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ”, उनले भने।

काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताए। उनले स्कुलले युवालाई विश्वस्तरीय तालीम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको उल्लेख गरे। केटिएसले आफ्ना विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारसँग पनि सहकार्य गर्ने अध्यक्ष पौडेलको भनाइ थियो।

त्यस अवसरमा सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र सरोकारवालाको उपस्थिति थियो। स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्नेछ। स्कुलले आगामी एक दशकमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ। रासस

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • १२ चैत्र २०८१, मंगलवार