Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता डा. महावीर पुनको नेतृत्वमा रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी खारेजीमा परेको छ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै म्याग्दीको राम्चेमा रहेको नेपाल वायरलेसको इन्टर्नेट (इ–मेल सहित) सेवाको अनुमतिपत्र खारेज गरेको जनाएको छ।
कम्पनीले अनुमतिपत्र (अनुमतिपत्र नं. ग्रामीण ५) नवीकरणका लागि तोकिएको अवधिभित्र निवेदन पेश नगरेको तथा नियमानुसार नवीकरण दस्तुर समेत नबुझाएको भन्दै नियामकले खारेज गरिदिएको छ।
कम्पनीको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम मिति २०८१ फागुन १९ गतेदेखि स्वतः खारेज भएको हो।
यसका साथै उक्त कम्पनीले नियमानुसार तिर्न बुझाउनुपर्ने रकमका सम्बन्धमा यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुमतिपत्र व्यवस्थापन शाखाले भनेको छ।
प्राधिकरण स्रोतकाअनुसार कम्पनीले बिगत लामो समयदेखि आफ्नो आर्थिक कारोबार र गतिबिधिहरुको बारेमा जानकारी दिएको थिएन। उक्त कम्पनी लामो समयदेखि त्यत्तिकै रहेको थियो।
“उहाँहरुले नै त्यसलाई बन्द गरिदिए हुन्छ भन्नुभएको थियो,र नियामकलाई बुझाउनुपर्ने नियमित जानकारीहरु समेत उपलब्ध गराईएको थिएन्,” स्रोतले भन्यो।
डा. पुनले नेपाल वायरलेस नेटवर्किङ परियोजनामार्फत नेपालका दूर्गम क्षेत्रमा इन्टरनेट सेवा पुर्याएका थिए। महावीरले पोखरास्थित एक घरमा जोडिएको टेलिफोन लाइनको इन्टरनेट राउटरबाट ४० किलोमिटर पर म्याग्दीको नाङ्गी गाउँमा पनि इन्टरनेट जोडेका थिए। यसरी वायरलेस जोड्ने काम सन् २००१ बाट २००२ सम्ममा नाङ्गी र राम्चे गाउँमा भएको थियो भने पछि १५ जिल्लाको १७५ ओटा गाउँहरुलाई इन्टरनेट नेटवर्क पुर्याएका थिए।
पछि उनले नेपाल वायरलेस नेटवर्किङ्ग प्रोजेक्ट सञ्चालन गरेका थिए र नेपाल वायरलेस कम्पनी स्थापना गरेका थिए। उक्त कम्पनीले ग्रामीण इन्टरनेट सेवा बिस्तारको लागि प्राधिकरणबाट ग्रामीणको अनुमति पत्र लिएको थियो। जुन अनुमति पत्र हाल नियामकले खारेज गरिदिएको हो।
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार