भक्तपुर ट्राफिकले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै

Technology Khabar ७ फाल्गुन २०८१, बुधबार

भक्तपुर ट्राफिकले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै
ट्राफिक प्रहरीले सवारी साधन जाँच गर्दै। फाइल तस्वीर

काठमाडौं ।

जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातिको समयमा पनि राडार गनमार्फत तीव्र गति मापन गर्दै कारबाही प्रक्रिया सुरु गरेको छ।

सोमबार राति ८ देखि ९ बजेसम्म एक घण्टा गरेको जाँचमा ४९ सवारीसाधन तीव्र गतिका कारण कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए।

तीव्र गतिमा सवारीसधान चलाउने टिपर चालकले रातिको समयमा पैदल यात्री, साइकल, मोटरसाइकल तथा स्कुटर र अन्य सवारी साधनलाई ठक्कर दिने, सडकका पोल र सडक किनाराका बारहरु भाँच्ने र अरूको घरभित्र समेत छिर्ने गरी तीव्र गतिमा सवारीसाधन चलाउन थालेपछि टिपरको समेत रातिको समयमा गति मापन गर्न राडार गनको प्रयोग गरी कारबाही गर्न सुरु गरेको उनले बताए।

यसैगरी जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीव्र गतिका कारण हुने दुर्घटना रोक्न तीव्र गति नियन्त्रण अभियान सुरु गरेको छ। मध्यपुर थिमि नगरपालिका–५ र ६ को सिमानामा पर्ने सल्लाघारी, पुरानोथिमि पेप्सीकोला सडकअन्तर्गत निकोेसेरा चोकबाट उक्त अभियान सुरु गरिएको हो। रासस

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया