चालु आर्थिक वर्षको त्रैमासिक कुल गार्हस्थ उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.२ प्रतिशत
काठमाडौं ।
केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०८१/८२ को त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनमा यो आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा विभिन्न शीर्षक अन्तर्गत योगदान गर्ने विभिन्न क्षेत्रहरुको योगदानको आँकडा समावेश गरिएको छ।
प्रत्येक त्रैमासिक समाप्त भएको ९० दिन भित्रमा त्रैमासिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्ने कार्यालयको अभ्यासबमोजिम चालु आ.व. २०८१/८२ को प्रथम त्रैमासिकको अनुमान सार्वजनिक गरिएको छ।
यस क्रममा अघिल्ला त्रैमासिकहरूमा प्रकाशित राष्ट्रिय लेखाका अनुमानहरूलाई उपलब्ध तथ्याङ्कका आधारमा अद्यावधिक समेत गरिएको छ।
अर्थतन्त्रका विविध पक्षहरूलाई मापन गरी आर्थिक नीति निर्माण गर्न तथा आर्थिक विकासका गतिविधिहरूको अनुगमन तथा मूल्याङ्कन गर्नका लागि विभागले नियमित रूपमा कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत, लगानी आदि जस्ता महत्वपूर्ण राष्ट्रिय लेखासम्बन्धी समष्टिगत आर्थिक सूचकहरू तथा त्यससँग सम्बन्धित तथ्याङ्कहरू तयार गरी सार्वजनिक गर्दै आएको छ।
यस्ता सूचकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न सरोकारवालाहरूबाट व्यापक रूपमा प्रयोग समेत हुँदै आएको छ।
यसै क्रममा चालु आर्थिक वर्षको १ देखि ३ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरू एवं बाँकी अवधिको अनुमान गर्दा केही हालको अवस्था र विगतका अवस्थाका अधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी २०८१/८२ को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०८०/८१ को संशोधित अनुमान तथा विगत आर्थिक वर्ष २०७९/८० को अन्तिम अनुमान प्रकाशित गरिएको प्रतिवेदनमा उल्लेख छ।
हाल प्रकाशित स्थिर मूल्यका अनुमानहरू आर्थिक वर्ष २०६७/६८ को मूल्यमा आधारित रहेका बुझिएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ मा उपभोक्ताको मूल्यमा ३.४ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि कुल कुल गार्हस्थ्य उत्पादनको वृद्धि हुने देखिएको विभागको प्रतिवेदनले देखाएको छ।
कुल गार्हस्थ्य उत्पादनको समग्र वृद्धिमा अन्य घटकहरु झैै सूचना तथा सञ्चार क्षेत्रको पनि महत्वपूर्ण योगदान रहेको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २.२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासका आधारमा कुल गार्हस्थ उत्पादन झिनो अंकले वृद्धि हुने देखिए पनि विद्युत र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ।
कुल मूल्य अभिवृद्धि ७.७ प्रतिशत
यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा अघिल्लो वर्ष २०८०/८१ को तुलनामा यस आर्थिक वर्षमा ७.७ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।
‘विद्युत तथा ग्याँस क्षेत्रमा सबैभन्दा बढी ८.५ प्रतिशत वृद्धि हुने र यो क्षेत्रलाई पछ्याउँदै सूचना तथा प्रविधि क्षेत्रको वृद्धिदर ७.७ प्रतिशत रहने अनुमान गरिएको छ’, विवरणमा उल्लेख छ।
यो आँकडा अघिल्लो आर्थिक वर्षमा ३.९ रहेकोले यो वर्ष ३.८ प्रतिशतले बढेको देखिन्छ।
औद्योगिक क्षेत्रका आधारमा मध्यम उपभोग
सामान्यतया: कुल उत्पादनमा मध्यम उपभोग घटाएर बाँकी रहेको मान नै कुल मूल्य अभिवृद्धि हो। तर त्रैमासिक कुल मूल्य अभिवृद्धि अनुमान गर्नका लागि आर्थिक क्रियाकलापका विभिन्न सूचकको प्रयोग गरिने हुनाले कुल उत्पादन र मध्यवर्ती उपभोगको गणना नगरिएको उल्लेख छ।
औद्योगिक क्षेत्रका आधारमा खुद मूल्य
यो आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रबाट औद्योगिक क्षेत्रका आधारमा २अर्ब ४८ करोड ५२ लाख रुपैयाँ बराबरको योगदान गरेको छ।