Technology Khabar २१ पुष २०८१, आईतवार
काठमाडौं ।
रामेछापको उमाकुण्ड गाउँपालिकाले एसईई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरूको संयुक्त बैठकपश्चात् गाउँपालिकाले एसईई परीक्षामा अधिकतम विद्यार्थी उत्तीर्ण गराउन तीनमहिने स्मार्ट एसईई तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
अब प्रत्येक शनिबार एसईईमा सहभागी हुने विद्यार्थीको साप्ताहिक परीक्षा सञ्चालन गरी सिकाइ उपलब्धि सुधारका लागि पृष्ठपोषण प्रदान गरिने छ। सबै विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धि ४० प्रतिशत सुनिश्चित गरी माध्यमिक विद्यालयमा अध्ययनरत न्यून सिकाइ उपलब्धि भएका कमजोर विद्यार्थीको पहिचान गरी सुधारात्मक कक्षा सञ्चालन हुने छ।
त्यसै गरी विषयगत सिकाइ उपलब्धिको आधारमा विद्यालय र शिक्षकको कार्यसम्पादन मूल्याकन गरी सोहीबमोजिम प्रोत्साहन र दण्डित गर्ने तथा सुधारात्मक तथा उपचारात्मक कक्षा सञ्चालन गर्न स्रोतको व्यवस्था गाउँपालिकाले गर्ने निर्णय गरेको छ।
उमाकुण्ड गाउँपालिका शिक्षा शाखा अधिकृत वासुदेव मस्राङ्गोले पालिकाले बनाएको योजना अनुसार शिक्षामा गुणस्तर ल्याउन अभिभावकको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुने बताए।
उनले भने, “सामुदायिक शिक्षामा सुधार अहिलेको आवश्यकता हो। यो कुरामा गम्भीर बनेर स्थानीय सरकारले विभिन्न योजना बनाएको छ। एसईई नतिजा सुधारका लागि स्मार्ट तयारी कक्षा सञ्चालन पनि यो योजना अन्तर्गतको एक हो।”
प्रकाशित: २१ पुष २०८१, आईतवार