त्रिविका सेवामा ‘अनलाइन’ व्यवस्थाले अपाङ्गता भएका विद्यार्थीको सहुलियत कार्यान्वयनमा समस्या

Technology Khabar २१ पुष २०८१, आईतवार

काठमाडौं ।

अपाङ्गता भएका विद्यार्थीका लागि त्रिभुवन विश्वविद्यालयले पढाइ, परीक्षा, लब्धाङ्कपत्रलगायत अन्य कुनै पनि शीर्षकमा शुल्क नलिने बताए पनि कार्यान्वयन भएको छैन।

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशपछि त्रिषि कार्यकारी परिषदले दुई दशकअघि नै विश्वविद्यालयमा भर्ना भएका तथा भर्ना हुन चाहने यस्ता विद्यार्थीलाई कुनै पनि शीर्षकमा शुल्क नलिने निर्णय गरेको थियो। अहिलेसम्म पनि यो निर्णय पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन।

आफैँले गरेको निर्णय कार्यान्वयन नहुँदा लक्षित विद्यार्थी भने मर्कामा परेका छन्। पहिलो पटक त्रिवि कार्यकारी परिषद्ले २०६१ साल फागुन १७ गते यो निर्णय गरेको थियो तर कार्यान्वयनका लागि भने
फेरि त्रिविले २०६२ जेठ २० गते अर्को निर्णय गरेर आफूमातहतका निकायलाई पत्राचार गरेको थियो।

त्यसअघि सर्वोच्च अदालतले सबै प्रकारका अपाङ्गता भएका, बहिरा तथा सुस्त मनस्थिति भएका व्यक्तिलाई विश्वविद्यालयमा निःशुल्क भर्ना गराउने तथा विश्वविद्यालयमा भर्ना भएपछि कुनै पनि प्रकारको शुल्क नलिनु भन्ने निर्देशनात्मक आदेश दिएको थियो। सोही आदेशलाई टेकेर त्रिविले शुल्क नलिने निर्णय गरेको थियो।

सर्वोच्चको आदेश र त्रिविको निर्णय अनुसार आफू अपाङ्गता भएको प्रमाणपत्र पेस गर्ने विद्यार्थीलाई विश्वविद्यालयमा भर्ना, परोक्षा लब्धाङ्कपत्रलगायतका कुनै पनि शीर्षकमा शुल्क लिन पाइँदैन। पछिल्लो समय त्रिषिले एकबर्से बिएडमा भर्ना हुनका लागि प्रवेश परीक्षाको आवेदन खुलाएको छ।

फाराम अनलाइनबाट भर्नुपर्ने हुन्छ तर अनलाइनबाट आवश्यकता अनुसारको सूचना भरिसकेपछि प्रवेश परीक्षा फाराम भर्नका लागि एक हजार पाँच सय रुपैयाँ इसेवामार्फत तिर्नुपर्ने हुन्छ।

अपाङ्गता भएका विद्यार्थीले कुनै पनि शीर्षकमा शुल्क तिर्न नपर्ने बताए पनि अनलाइनबाट फाराम भर्दा अपाङ्गता भएका विद्यार्थीका लागि यो सुविधा उपलब्ध हुँदैन।

“सर्वोच्चको आदेश अनुसार त्रिवि आफैँले शुल्क नलिने निर्णय गरे पनि अनलाइनबाट फाराम भर्दा शुल्क तिर्नुपर्ने हुन्छ,” दृष्टिविहीन विद्यार्थी विवश श्रेष्ठले गुनासो गरे, “अनलाइनबाट फाराम भर्दा शुल्क तिर्नैपर्ने हो भने हामीले शुल्क तिरेको रसिदका आधारमा पैसा फिर्ता दिनुपर्ने हो तर अहिलेसम्म फिर्ता पाएका छैनौं।”

यसअघि स्नातकोत्तर तहका विभिन्न विषयका फाराम भर्दा पनि यस्तो समस्या आएको विद्यार्थीको गुनासो छ। श्रेष्ठले भने, ‘अनलाइनबाट फाराम भर्दा लाग्ने शुल्क तिरेको रसिद लिएर त्रिविमा जाँदा तिरिसकेको पैसा फिर्ता दिने नीति छैन भनेर फर्काउने गरेका छन्।’

अनलाइनबाट शुल्क तिर्न कठिन भएमा सम्बन्धित विद्यार्थीले पढ्ने क्याम्पसमार्फत रसिद बुझाएर तिरेको शुल्क फिर्ता दिने गरिएको त्रिविका अधिकारीको भनाइ छ। यो काम केहो झन्झटिलो हुने गरेको मानविकी तथा सामाजिकशास्त्र सङ्कायका एक अधिकृतले बताए। उनले भने, “हामीले पनि यस विषयमा माथिल्लो निकायमा पटक पटक खबर गरिसकेका छौं तर पनि पूर्ण कार्यान्वयन भएको छैन।”

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले अपाङ्गता भएका विद्यार्थीका लागि नियम अनुसारको शुल्क मिनाहा गर्ने गरिएको दावी गरे। त्रिविको निकाय अनुसार फरक फरक काम हुने भएका कारण सबै काममा एकै प्रकारको प्रणाली नभएको र सोही कारण अपाङ्गगता भएका विद्यार्थी समस्यामा पर्ने गरेको जोशीले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: २१ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया