
काठमाडौं ।
अमेरिकाको संघीय न्यायाधीशले टेक लबिङ समूह नेटच्वाइसको चुनौतीलाई अस्वीकार गर्दै क्यालिफोर्नियाको नयाँ कानुन ‘एसबी ९७६’ लाई प्रभावकारी रूपमा लागू गर्न अनुमति दिएका छन्। मंगलबार रातिबाट लागू भएको यो कानुनले कम्पनीहरूलाई बालबालिकालाई “लत लगाउने खालका फिड” प्रदान गर्न प्रतिबन्ध लगाएको छ।
यो निर्णयसँगै बुधबारदेखि कम्पनीहरू क्यालिफोर्नियामा रहेका र वास्तविक उमेर खुलेका बालबालिकालाई अभिभावकीय अनुमति बिना “लत लगाउने खालका फिड” अर्थात् सामग्री प्रदान गर्न प्रतिबन्धित हुने टेकक्रञ्चले उल्लेख गरेको छ।
एसबी ९७६ ले “लत लगाउने खालका फिड” लाई स्पष्ट प्राथमिकतामा आधारित नभई प्रयोगकर्ताको व्यवहारमा आधारित सामग्री चयन र सिफारिस गर्ने एल्गोरिदमका रूपमा परिभाषित गरेको छ।
सन् २०२७ को जनवरीदेखि, कम्पनीहरूले उमेर निर्धारणका लागि अनुमान मोडेलहरूजस्ता “उमेर पुष्टि गर्ने प्रविधि” प्रयोग गर्नुपर्नेछ र तदनुसार फिड समायोजन गर्नुपर्नेछ।
गत वर्षको नोभेम्बरमा मेटा, गुगल र एक्सजस्ता सदस्यहरू समावेश गरिएको नेटच्वाइसले एसबी ९७६ को सम्पूर्ण कार्यान्वयन रोक्न मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा यो कानुनले फर्स्ट अमेन्डमेन्ट उल्लङ्घन गर्ने दावी गरिएको थियो। यसलाई न्यायाधीशले उक्त मुद्दामा अस्थायी रोक लगाउने प्रस्ताव अस्वीकार गरे।
तर न्यायाधीशले बालबालिकाका लागि रातिको समयमा नोटिफिकेशनहरू पठाउन प्रतिबन्धलगायत केही अन्य प्रावधानमा भने रोक लगाएका छन्। यसैबीच न्यूयोर्कले पनि जुन महिनामा यस्तै कानून पारित गरेको थियो।
प्रकाशित: १७ पुष २०८१, बुधबार