सूर्यको यति नजिक पुगेर पनि कसरी सुरक्षित रह्यो नासाको पार्कर सोलर प्रोब?

  • Technology Khabar | १४ पुष २०८१, आईतवार
सूर्यको यति नजिक पुगेर पनि कसरी सुरक्षित रह्यो नासाको पार्कर सोलर प्रोब?

काठमाडौं ।

नासाको पार्कर सोलर प्रोब स्पेसक्राफ्टले सूर्यको निकै नजिक पुगेर पनि सामान्य रूपमा काम गरेर इतिहास रचेको छ। यसअघि कुनै पनि अन्तरिक्ष यान सूर्यको यति नजिक पुगेको थिएन।

शुक्रबार नासाका वैज्ञानिकहरूले अत्यधिक तातो वातावरणमा केही दिनसम्म उडान भरेपछि सोलर प्रोबको सञ्चार सम्पर्क टुटेको संकेत पाएका थिए।

तर यो यान सुरक्षित रहेको र सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढा हुँदा पनि सामान्य रूपमा कार्य गरिरहेको नासाले जनाएको छ।

बीबीसीका अनुसार पार्कर सोलार प्रोबलाई २०१८ मा सूर्यतर्फ पठाइएको थियो। वैज्ञानिकहरूका अनुसार क्रिसमसको एक दिन अघि यो यान सूर्यको बाहिरी वातावरणमा प्रवेश गर्‍यो। अत्यधिक तापक्रम र विकिरणको सामना गरे पनि यसले आफ्नो अस्तित्व जोगाउन सफल भयो।

यो उडानले सूर्यको कार्यप्रणालीको हाम्रो बुझाइलाई थप विस्तार गर्नेछ। सूर्यको नजिक पुग्दा नासाका वैज्ञानिकहरू निकै उत्सुक र चिन्तित थिए। उनीहरू लगातार सिग्नलको प्रतीक्षा गरिरहेका थिए, जसलाई २८ डिसेम्बरको बिहान पाँच बजे प्राप्त हुने अपेक्षा थियो।

नासाको वेबसाइटका अनुसार पार्कर सोलार प्रोब ६.९२ लाख किलोमिटर प्रति घण्टाको गतिको साथ यात्रा गर्दै ९८० डिग्री सेल्सियस तापक्रम सहन सक्षम भएको हो।

नासाले भन्यो, “पार्कर सोलार प्रोबले सूर्यको यति नजिकबाट अध्ययन गर्दा यस क्षेत्रको तापक्रम, सौर हावा र ऊर्जा सम्पन्न कणहरूको उत्पत्ति र गतिको कारणहरूको अध्ययन गर्न सकिनेछ।”

नासाको साइन्स विभाग प्रमुख डा. निकोला फक्सका अनुसार, “सदियौंदेखि मानिसहरूले सूर्यको अध्ययन गरेका छन्। तर जबसम्म हामी त्यसको नजिक जाँदैनौं, त्यहाँको वातावरणको वास्तविकता थाहा पाउन सक्दैनौं।”

पार्कर सोलार प्रोबले हालसम्म सूर्यलाई २१ पटक पार गरिसकेको छ। प्रत्येक पटक यो सूर्यको अझ नजिक पुगेको छ। क्रिसमसको पूर्वसन्ध्यामा यो सूर्यको अहिलेसम्मकै नजिक पुगेको थियो, जुन ६१ लाख किलोमिटरको दूरीमा थियो।

यो दूरीले सूर्य र प्रोबको बीचको दूरीको नयाँ परिभाषा सिर्जना गरेको छ। डा. फक्सका अनुसार, “हामी सूर्यबाट ९.३० करोड माइल टाढा छौं। यदि सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राखिन्छ भने, पार्कर सोलार प्रोब सूर्यबाट ४ सेन्टिमिटरको दूरीमा हुनेछ।”

प्रोबले १४०० डिग्री सेल्सियस तापक्रम सहन सक्यो। यति धेरै गर्मीले प्रोबको इलेक्ट्रोनिक्सलाई नष्ट गर्न सक्थ्यो, तर ११.५ सेन्टिमिटर बाक्लो कार्बन-कम्पोजिट शिल्डले यसलाई बचायो।

प्रोबको रणनीति सूर्यको वातावरणमा छिटो प्रवेश गर्ने र त्यहाँबाट छिटो बाहिर निस्कने हो। यसको गति ४३०,००० माइल प्रति घण्टा थियो, जुन लन्डनदेखि न्यूयोर्कसम्म ३० सेकेन्डभन्दा कम समयमा पुग्ने गतिसँग तुलना गर्न सकिन्छ। पार्करको यो गति सूर्यको शक्तिशाली गुरुत्वाकर्षण बलका कारण सम्भव भएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: १४ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार