चिनियाँ ई-कमर्स एप टेमु यो वर्ष पनि अमेरिकामा आईओएस डाउनलोडको शीर्ष स्थानमा

Technology Khabar २ पुष २०८१, मंगलवार

काठमाडौं ।

चीनको पीडीडी होल्डिङ्सको स्वामित्वमा रहेको लोकप्रिय ई-कमर्स एप टेमुले दोस्रो वर्ष पनि अमेरिकाको आईओएस स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएका नि:शुल्क एपहरूको सूचीमा शीर्ष स्थान हासिल गरेको छ। यसले संसारकै ठूलो उपभोक्ता बजारमा चिनियाँ एपहरूको ठूलो सफलता झल्काउँछ।

बाइटडान्सको टिकटक तेस्रो स्थानमा रह्यो भने टेमुको प्रतिस्पर्धी र फास्ट-फ्यासन  कम्पनी शेइन १२औँ स्थानमा पुगेको छ। स्ट्याट काउन्टरको तथ्याङ्क अनुसार एप्पलको आईओएसले अमेरिकी मोबाइल फोन बजारको ५६% हिस्सा ओगटेको छ।

२०२२ मा अमेरिकी बजारमा प्रवेश गरेको टेमुले सस्तो सामान उपलब्ध गराएर बजारलाई चकित बनाउँदै प्रमुख कम्पनी अमेजनलाई चुनौती दिइरहेको छ।

तर, चिनियाँ कम्पनी टेमु अहिले अमेरिकी अधिकारीहरूको कडा निगरानीमा परेको छ। साथसाथै ट्रम्प प्रशासनले चिनियाँ सामानमा कर (ट्यारिफ) बढाउने वाचा गरेकोले थप चुनौती सामना गर्नुपर्ने जोखिम छ।

नियमहरू र ट्यारिफको जोखिम

शेइन र टेमुजस्ता कम्पनीहरूले सस्ता सामान र आक्रामक विज्ञापनमार्फत अमेरिकी उपभोक्तालाई आकर्षित गरिरहेका छन्। तर, तिनीहरूले वाशिङटन को ध्यानसमेत तानेका छन्।

सेप्टेम्बरमा, बाइडेन प्रशासनले “डे मिनिमिस ” प्रावधानको दुरुपयोग रोक्न नयाँ प्रस्ताव ल्याएको थियो। यो प्रावधानले ८०० डलरभन्दा कम मूल्यका सामानहरूलाई आयात शुल्कबाट छुट दिने सीएनबीसीले उल्लेख गरेको छ।

यदि टेमु र शेइनले यो छुट गुमाउने हो भने सामानको मूल्य बढ्न सक्छ र तिनीहरूको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन सक्छ।

डोनाल्ड ट्रम्पको पुन: राष्ट्रपति पदमा फर्कनु अर्को अनिश्चितता हो। उनले चीनबाट आयात हुने सामानमा ६०% देखि १००% सम्म ट्यारिफ लगाउने योजना घोषणा गरेका थिए, यद्यपि त्यो कार्यान्वयन हुने नहुने स्पष्ट छैन।

प्रकाशित: २ पुष २०८१, मंगलवार

तपाइको प्रतिक्रिया