ताजा समाचार

अमेरिकी नियामकले इलन मस्कको ब्रेन-चिप स्टार्टअप न्युरालिङ्कसँग सम्बन्धित अनुसन्धान पुनः ब्युँतायो

अमेरिकी नियामकले इलन मस्कको ब्रेन-चिप स्टार्टअप न्युरालिङ्कसँग सम्बन्धित अनुसन्धान पुनः ब्युँतायो
Global IME Bank

अमेरिकी सेक्युरिटी तथा विनिमय आयोग (एसईसी) ले यस हप्ताको सुरुमा इलन मस्कको ब्रेन-चिप स्टार्टअप न्युरालिङ्कसँग सम्बन्धित अनुसन्धान पुनः सुरु गरेको छ।

मस्कले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा साझेदारी गरेको एउटा पत्र अनुसार यो जानकारी बाहिर आएको हो।

डिसेम्बर १२ मा मस्कका वकिल एलेक्स स्पाइरोले एसईसीका अध्यक्ष ग्यारी गेन्स्लरलाई पठाएको पत्रमा आयोगले एक समझौता प्रस्ताव गरेको उल्लेख गरिएको छ। पत्रमा मस्कलाई ४८ घण्टाभित्र आर्थिक जरिवाना तिर्न सहमति जनाउन वा धेरै आरोपहरूको सामना गर्न तयार रहन भनिएको थियो। पत्रमा मागिएको रकमको विवरण भने नखुलाइएको रोयटर्सले जनाएको छ।

इलन मस्कले लामो समयदेखि एसईसीसँग विवाद गर्दै आएका छन्। गत वर्ष चार जना सांसदले न्युरालिङ्कद्वारा विकसित मस्तिष्क प्रत्यारोपणको सुरक्षाबारे लगानीकर्तालाई गलत सूचना दिएको आरोप लगाउँदै एसईसीले मस्कले प्रतिभूति ठगी गरेको हो कि भनेर अनुसन्धान गर्न माग गरेका थिए। एसईसीले मस्कविरुद्ध कुनै कारबाही गर्न कत्तिको प्रभावकारी हुनेछ भन्ने विषय स्पष्ट छैन।

टेस्ला र स्पेसएक्सका प्रमुख मस्कले नोभेम्बरको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन २५ करोड डलरभन्दा बढी खर्च गरेपछि असाधारण प्रभाव हासिल गर्ने तयारीमा छन्। उनका कम्पनीहरूलाई नियमन र प्रवर्तन उपायहरूबाट सुरक्षित राखिने अपेक्षा गरिएको छ।

ट्रम्पले मस्कलाई अमेरिकी सरकारको व्यापक पुनर्संरचनाको योजना बनाउने कार्यबलमा पनि नियुक्त गरेका छन्।

स्पाइरोले पत्रमा एसईसीबाट तर्सिने अवस्था नरहेको र मस्कले आफ्ना कानूनी अधिकार सुरक्षित राख्ने बताएका छन्।

मस्क र एसईसी बीचका विवादमा ४४ अर्ब डलरमा ट्विटर (अहिले एक्स) अधिग्रहणसँग सम्बन्धित एसईसीको अनुसन्धान पनि समावेश छ।

नोभेम्बरमा एक संघीय न्यायाधीशले यस मामिलामा अदालतद्वारा आदेशित बयानका लागि उपस्थित हुन असफल भएपछि एसईसीले मस्कलाई कारबाही गर्न गरेको अनुरोध अस्वीकार गरेका थिए।

२०१८ मा एसईसीले मस्कविरुद्ध टेस्लालाई निजी कम्पनी बनाउनेबारे ट्विटर पोस्टका लागि मुद्दा दायर गरेको थियो। उनले यो मुद्दा २० मिलियन डलर जरिवाना तिर्दै, टेस्लाका कानूनी टोलीलाई केही पोस्टहरू अघि नै समीक्षा गर्न दिने र टेस्लाको अध्यक्ष पदबाट राजीनामा गर्ने सहमतिमा टुंग्याएका थिए।

Sajilo Visa
easy care