
काठमाडौं ।
कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) मा मंसिर २४ देखि २६ गतेसम्म तीनदिने अर्डुइनो (Arduino) वर्कशप सफलतापूर्वक सम्पन्न भएको छ। केईसी इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित यस वर्कशपमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
वर्कशपमा सहभागीहरूले अर्डुइनोको आधारभूत संरचना, यसको प्रयोगका विधिहरू र प्रोजेक्ट निर्माणका सीप सिकेका छन्। कार्यक्रममा रमाइलो थप्न विभिन्न खेलहरू पनि आयोजना गरिएका थिए। यी खेलहरूले सहभागीहरूको उत्साह बढाउनुका साथै विजेताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
यो वर्कशप आगामी पुस ४ गते आयोजना हुने केईसी लाइट २०८१ का लागि पूर्वतयारीको रूपमा आयोजना गरिएको केईसी इलेक्ट्रोनिक्स क्लबले जानकारी दिएको छ।
पुस ४ गते केईसी लाइट २०८१ भव्य रूपमा आयोजना गरिनेछ। यसमा इलेक्ट्रोनिक्स, कम्प्युटर, र सिभिल इन्जिनियरिङका रोचक र नयाँ प्रोजेक्टहरूको प्रदर्शनी गरिनेछ। साथै, विभिन्न रमाइलो प्रतियोगिताहरूले कार्यक्रमलाई अझ रोचक बनाउनेछन्।

इलेक्ट्रोनिक्स क्लबले रु ३०,००० को पुरस्कार राशीसहित सिर्जनात्मक र नवीन प्रोजेक्टहरूको खोजी गरिरहेको छ। जुनसुकै कलेजका विद्यार्थीहरूले यस कार्यक्रमका सबै प्रतियोगितामा भाग लिन सक्नेछन्।
पुस ३ र ४ गते रोबो सुमो, रोबो सकर, रोबो रेस र लाइन फलोइङ रोबोट जस्ता रोबोटिक प्रतियोगिताहरू आयोजना गरिनेछन्। यी प्रतियोगिताहरूले विद्यार्थीहरूलाई प्रविधि र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने लक्ष्य राखेका छन्। रोबोटिक प्रतियोगिताहरूका लागि कूल रु १,३५,००० को पुरस्कार राशी तोकिएको छ। इच्छुक सहभागीहरूले यहाँ क्लिक गरेर अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।
मंसिर २८ गतेदेखि ३२ घण्टे ह्याकाथन ह्याक-अ-लाइट आयोजना हुनेछ। यो प्रतियोगिताले विद्यार्थीहरूलाई सिर्जनशील विचारलाई प्रविधिको माध्यमबाट उपयोग गरी विविध समस्या समाधान गर्ने अवसर प्रदान गर्नेछ। यो ह्याकाथनका लागि रु ५०,००० भन्दा बढी पुरस्कार राशी तोकिएको छ।
इलेक्ट्रोनिक्स क्लबद्वारा आयोजित वर्कशपका अतिरिक्त कम्प्युटर क्लबले React र SQL वर्कशपहरू आयोजना गरिसकेको छ भने सिभिल क्लबले पनि आफ्ना विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यी सबै गतिविधिहरूले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपेको छ।
विद्यार्थीहरूले आगामी कार्यक्रमहरूको प्रतीक्षामा उच्च चासो देखाएका छन्। केईसी लाइट २०८१को तयारी तीव्र गतिमा चलिरहेको आयोजकले जानकारी दिएका छन्।
प्रकाशित: २७ मंसिर २०८१, बिहीबार