Technology Khabar १३ मंसिर २०८१, बिहीबार
काठमाडौं ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले १ करोड युरो लगानी गरेको छ।
फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न र वर्ल्डलिंकको पहिलो टियर ३ डाटा सेन्टर निर्माण गर्न प्रयोग गरिने बताइएको छ।
नेपालमा झन्डै आधा जनसंख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित छन् र शहरी र ग्रामीण क्षेत्रहरूमा उल्लेखनीय असमानता रहेकाले विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने कम्पनीले जनाएको छ।
बिहीबार आयोजित कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

“वर्ल्डलिङ्कले नेपालको ग्रामीण क्षेत्र र दुर्गम गाउँहरूमा आफ्ना सेवाहरू विस्तार गरेर नेपालमा डिजिटल विभाजनलाई कम गर्ने दिशामा काम गरिरहेको छ भने डिजिटल पूर्वाधारमा फिनफन्डको लगानीले समुदायहरूलाई छिटो, थप किफायती र भरपर्दो इन्टरनेट उपलब्ध गराउन खोजेको छ,” फिनफण्डका वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले भने, “फिनिश लगानीकर्ता भएकोले, हामी पक्कै पनि वर्ल्डलिङ्कले आफ्नो इन्टरनेट सेवाहरू बिस्तार गर्न नोकियाको उन्नत प्रविधि प्रयोग गर्छ भन्ने तथ्यलाई पनि महत्त्व दिन्छौं।”
फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिंकको सहकार्यले वर्ल्डलिंकका ग्राहकहरुका लागि समग्र इन्टरनेट अनुभवलाई अझ भरपर्दो, तीव्र गतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिङ्कको बिस्तारले वर्ल्डलिङ्कका ग्राहकहरूलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायकहरू, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थाहरूलाई पनि फाइदा पुग्नेछ।
“फिनफण्ड डाटा केन्द्र निर्माणको क्रममा वातावरणीय र सामाजिक जोखिम व्यवस्थापनमा वर्ल्डलिङ्कलाई सहयोग गर्न तत्पर छ” किल्पेलेइनले जोड दिए।

“फिनफण्डको लगानी नेपालको हरेक कुनालाई तिब्र, भरपर्दो र किफायती इन्टरनेट नेटवर्कमा जोड्ने हाम्रो लक्ष्यमा एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ”, वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले भने, “हाम्रो फाइबर नेटवर्क विस्तार गरेर तथा विश्व-स्तरीय डाटा सेन्टर स्थापना गरेर, हामीले शहर र ग्रामीण भेग बिचमा देखिएको डिजिटल विभेदलाई हटाउने र देशभर डिजिटल रूपान्तरणलाई गति दिने लक्ष्य राखेका छौं।”
स्मरण रहोस्, वर्ल्डलिंकले आजै पुनः अनुमतिपत्र पाएको छ। कम्पनीले आफ्नो २५ वर्षे अनुमति पत्र पुरा गरेर नयाँ लाइसेन्स पाएको हो।
सम्बन्धित समाचार-
प्रकाशित: १३ मंसिर २०८१, बिहीबार