विशेष अदालतद्वारा पहिलोपटक विदेशमा रहेका प्रतिवादीसँग भर्चुअल माध्यमबाट सुनुवाई

Technology Khabar १२ कार्तिक २०८१, सोमबार

काठमाडौं ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी गराई भष्ट्राचार गरेको भन्ने मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाबाट बिहान साढे १० बजे विशेष अदालतमा भर्चुअल माध्यमबाट सम्पन्न भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा दायर भएको नेपाल सरकार र डा. बैकुण्ठ अर्याल प्रतिवादी रहेको उक्त मुद्दामा अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय न्यायाधीश डा. खुशीप्रसाद थारू र रितेन्द्र थापा भएको इजलासमा संयुक्त राज्य अमेरिकाबाट बहस तथा छलफल एवम् सुनुवाइ भएको हो।

नेपाल बार, सरकारी वकिल र सरोकारवालासँग छलफल गरी क्रमशः सार्वजनिक सरोकारका विशेष मुद्दाहरूमा प्रत्यक्ष सुनुवाई ( लाइभ स्ट्रिमिङ) गर्ने लक्ष्यसमेत रहेको जनाइएको छ।

यसअघि भर्चुअल सुनुवाइको सेवा जनकपुर लगायतको स्थानबाट कानून व्यवसायीहरूले लिँदै आएकोमा आज  भने विशेष अदालतले समेत प्रविधिको सदुपयोग गर्दै प्रयोगमा ल्याएको हो।

विशेष अदालतले आज एक विज्ञप्ति प्रकाशित गरी “छिटो छरितो न्याय सबैका लागि न्याय” भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका प्रविधिहरूको प्रभावकारी प्रयोग गर्दै आएको जनाएको छ।

यसैक्रममा अदालतले गत आ.व. २०६०/०८१ मा ८८% (प्रतिशत) मुद्दाको फछ्यौट गरी कानूनले तोकेको म्याद ६ (छ) महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न पूर्ण रूपमा सफल भएको उल्लेख गरेको छ। यसका लागि सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गर्ने नीति र कार्यक्रम अघि सारिएको पनि विज्ञप्तिमा समावेश गरिएको छ।

यसबारेको तथ्यांक हेर्दा तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट मिति २०८० / १२ / १५ गते भर्चुअल सुनवाई पद्धतिको शुभारम्भ भएको देखिन्छ। सो पश्चात देशका विभिन्न जिल्लाहरूवाट र विदेशबाट समेत साक्षी वकपत्र भर्चुअल माध्यमवाट गरी प्रभावकारी रूपमा सेवा प्रदान गरिंदै आएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयानसमेत भर्चुअल माध्यमबाट गरिँदै आएको जनाइएको छ। सुर्खेत, झापा जिल्ला लगायतबाट सम्बन्धित जिल्लाका जिल्ला अदालतसँग समन्वय गरी प्रतिवादीहरूको बयान गराई थुनछेक बहस र आदेशसमेत भर्चुअल माध्यमबाट गरी सहज रूपमा सेवा प्रदान गर्दै आएको छ।

अदालतका अनुसार नेपालको न्यायिक परीपाटीमा विदेशबाट समेत बहस छलफल सुनी पक्षहरूको स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत भएको प्रविधियुक्त यो नौलो प्रयोग हो।

विशेष अदालतले उपलब्ध गराएको न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाईको सदुपयोग गर्न समस्त कानून व्यवसायी तथा सेवाग्राहीहरू सबैमा यो अदालत आग्रह गरेको छ।

प्रकाशित: १२ कार्तिक २०८१, सोमबार

तपाइको प्रतिक्रिया