Technology Khabar ९ कार्तिक २०८१, शुक्रबार
काठमाडौं ।
हामी बस्ने ब्रह्माण्डको क्षेत्र पहिले अनुमान गरिएकोभन्दा धेरै ठूलो हुन सक्छ। एउटा नयाँ अध्ययनका अनुसार हाम्रो आकाशगङ्गा रहेको इन्टरग्यालेक्टिक सुपरक्लस्टर अझै ठूलो “बेसिन अफ एट्र्याक्सन” को हिस्सा हुन सक्छ, जुन हामीले हाल बसोबास गरेको क्षेत्रमा भन्दा १० गुणा ठूलो हुन सक्छ।
लाइभसाइन्सका अनुसार ब्रह्माण्डमा बेसिन अफ एट्र्याक्सन (बीओए) धेरै छन् जसमा ठूला वस्तुको गुरुत्वाकर्षणले सबै चीजलाई भित्रतिर तानिरहेको हुन्छ। यी BOAs गुँडजस्तै एक अर्काभित्र तहहरूमा रहेको हुन्छन्। उदाहरणका लागि चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ, पृथ्वीले सूर्यको परिक्रमा गर्छ, र हाम्रो सौर्यमण्डलले पनि आकाशगङ्गाको केन्द्रमा रहेको अति ठुलो ब्ल्याक होलको वरिपरि घुमिरहेको छ।
तर यो कथा यहीं अन्त्य हुँदैन। बीओएको अर्को तहमा मिल्की वे अर्थात् आकाशगंगा रहेको लोकल ग्रुप पर्छ जसमा एन्ड्रोमेडा ग्यालेक्सी, ट्रायाङ्गुलम ग्यालेक्सी, र अन्य स्याटेलाइट ग्यालेक्सीहरू पनि समावेश छन्।
त्यसपछि अर्को तहमा करिब २,००० ग्यालेक्सी समावेश भएको भर्जो क्लस्टर र अझ ठूलो भर्जो सुपरक्लस्टर आउँछ। हालसम्म थाहा भएको अन्तिम तह लानियाकेआ सुपरक्लस्टर हो जसमा करिब १ लाख ग्यालेक्सीहरू छन् र यसको आकार लगभग ५०० मिलियन प्रकाशवर्ष लामो छ।

तर गत सेप्टेम्बर २७ मा नेचर एस्ट्रोनोमी जर्नलमा प्रकाशित नयाँ अध्ययनमा अनुसन्धानकर्ताहरूले ५६ हजार भन्दा बढी ग्यालेक्सीहरूको सापेक्षिक चालहरूको विश्लेषण गरेर मिल्की वे वरिपरिका सबै बीओए हरूको थ्रीडी ‘प्रोबेबलिस्टिक’ नक्शा बनाएको लाइभसाइन्सले उल्लेख गरेको छ।
यसले हाम्रो आकाशगङ्गा अझै ठूलो बीओए सेप्ले कन्सन्ट्रेसनको हिस्सा हुन सक्ने र यसको आकार लानियाकेआ भन्दा १० गुणा ठूलो हुन सक्ने देखायो। वैज्ञानिकहरूले सेप्ले कन्सन्ट्रेसनको अस्तित्व पहिले नै थाहा पाएका थिए, तर यसले मिल्की वेलाई असर गर्छ भन्ने विश्वास थिएन।
“जति हामी ब्रह्माण्डको गहिराइमा हेर्छौं, हामी हाम्रो घरको सुपरक्लस्टर अझै बढी जोडिएको र विस्तारित देख्छौं भन्ने कुरा अनौठो होइन,” अध्ययनका सह-लेखक नोआम लिबेस्काइन्डले भने। “हामी अझ ठूलो संरचनाको हिस्सा हुन सक्छौं भन्ने कुरा पत्ता लगाउनु रोमाञ्चक छ।”
लानियाकेआको खोजमा भूमिका खेलेका हालका अनुसन्धानकर्ताहरूमिल्की वे सेप्ले कन्सन्ट्रेसनको हिस्सा हुने ६०% सम्भावना रहेको विश्वास गर्छन्। तर अनिश्चितता भने मुख्यतः टाढाका ग्यालेक्सीहरूको गतिको मापनमा उच्च त्रुटि दर र ग्यालेक्सीहरूको बीचमा रहेको डार्क म्याटरको उपस्थितिका कारण हो जसले ठूला क्षेत्रहरूमा देख्न नसकिने गहिरो गुरुत्वाकर्षण प्रभाव पार्न सक्छ।

यदि यो कुरा सत्य हो भने नयाँ पत्ता लगाइएका तथ्यहरूले मिल्की वे लानियाकेआको हिस्सा नभएको पनि संकेत गर्न सक्छ। वास्तवमा, लानियाकेआ सुपरक्लस्टर अस्तित्वमै नरहेको हुन सक्ने र यो सेप्ले कन्सन्ट्रेसनको बाहिरी भाग मात्र हुन सक्ने अनुसन्धानकर्ताहरूले बयानमा उल्लेख गरेका छन्।
नयाँ नक्शामा साउथ पोल वाल, बुटिस भ्वाइड, र पर्सियस-पाइसेस सुपरक्लस्टरजस्ता सेप्ले कन्सन्ट्रेसन वरपरका अर्बौं प्रकाशवर्षभर फैलिएका दर्जनौँ वस्तुहरू देखाइएका छन्। नक्शामा सबैभन्दा ठूलो बीओए स्लोन ग्रेट वाल हो, जुन लगभग १.४ अर्ब प्रकाशवर्षसम्म फैलिएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार यो नयाँ नक्शाले ब्रह्माण्डमा हाम्रो स्थानलाई थप स्पष्ट रूपमा चिन्हित गर्न मद्दत गरिरहे पनि यसले अझै पनि धेरै जानकारी हामीले छुटाउन सक्छौं भन्ने सम्भावना उठाएको छ।
“यो खोजले हाम्रो ब्रह्माण्डीय सर्वेक्षणहरू यस्ता ठूला बेसिनहरूको पूर्ण आकार मापन गर्न अझै पर्याप्त ठूला नहुन सक्छन् भन्ने एउटा चुनौती प्रस्तुत गर्छ”, अध्ययनका सह-लेखक एस्ट्रोनोमर एहसान कौरक्चीले भने। “हामी अझै विशाल आँखाबाट हेर्दै छौं, तर यी आँखाहरू पनि हाम्रो ब्रह्माण्डको पूर्ण चित्र अटाउन पर्याप्त ठूला नहुन सक्छन्।”
प्रकाशित: ९ कार्तिक २०८१, शुक्रबार