वर्षा र बाढीले टेलिफोन र इन्टरनेट सेवा क्षेत्रमा करिब २९ करोडको क्षति

Technology Khabar १६ आश्विन २०८१, बुधबार

वर्षा र बाढीले टेलिफोन र इन्टरनेट सेवा क्षेत्रमा करिब २९ करोडको क्षति
सांकेतिक तस्विर

काठमाडौं ।

केही दिनअघि परेको भारी वर्षा र आएको बाढीपहिरोलगायत कारण देशभर टेलिफोन र इन्टरनेट सेवा क्षेत्रमा करिब २९ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले दिएको प्रारम्भिक तथ्यांकअनुसार मोबाइल अपरेटर र इन्टरनेट सेवा प्रदायकहरुको सेवामा क्षति पुग्नुका साथै अवरुद्ध भएका सेवाहरु तिब्र गतिमा मर्मत गर्ने कार्य भईरहेको छ।

प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले बताएअनुसार करिब २९ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

उनकाअनुसार हालसम्म आएको तथ्यांकअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को करिब ७ करोड बराबरको पूर्वाधार तथा सेवामा क्षति पुगेको छ भने एनसेल आजियाटा लिमिटेडको करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

यसका साथै इन्टरनेट सेवा प्रदायकहरुको भने करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।

“नेपाल टेलिकमको करिब ७ करोड रुपैयाँको क्षति भएको र एनसेलको करिब १५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ,” प्राधिकरणका सहायक प्रवक्ता पौड्यालले टेक्नोलोजीखबरसँग भने, “हालसम्म १४/१५ इन्टरनेट सेवा प्रदायकहरुको सेवा र पूर्वाधारमा करिब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ।

उनकाअनुसार इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको छ।

यसैगरी क्षति पुगेका सेवा र पूर्वाधारहरु पुन स्थापना र संचालन गर्ने क्रम पनि जारी रहेको छ।

विशेषगरी वर्षापछि भएको विद्युत् आपूर्ति अवरोधका कारण धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो। विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवाहरु पनि पुनः सञ्चालन गरिएको उनले बताए।

“हामीले दिएको निर्देशनअनुसार सेवा प्रदायकहरुले तिब्र गतिमा काम गरिरहेको जानकारी दिएका छन्। अवरुद्ध सेवाहरु सकेसम्म छिटै संचालन गर्ने तयारी रहेको छ,” उनले भने।

अत्यावश्यक सेवामा अवरोध नहोस् भनेर नियामक लागिरहेको प्रवक्ता डा पौड्यालले जानकारी दिए।

प्रकाशित: १६ आश्विन २०८१, बुधबार

तपाइको प्रतिक्रिया