ताजा समाचार

‘ग्रीन हाइड्रोजन’को प्रयोग थाल्नुपर्छ, ‘अर्बिट’मा आफ्नै ‘स्याटेलाइट’ राख्नुपर्छ-प्रधानमन्त्री ओली

‘ग्रीन हाइड्रोजन’को प्रयोग थाल्नुपर्छ, ‘अर्बिट’मा आफ्नै ‘स्याटेलाइट’ राख्नुपर्छ-प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली काठमाडौँ, २५ भदौः प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार प्रधानमन्त्री निवास, बालुुवाटारमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७औँ प्राज्ञसभालाई सम्बोधन गर्दै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय-रासस
Global IME Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले अब हामीले ‘ग्रीन हाइड्रोजन’को प्रयोग थाल्ने र अन्तरिक्षको ‘अर्बिट’मा आफ्नै ‘स्याटलाइट’ राख्नेतर्फ ध्यान दिन सक्नुपर्ने बताएका छन्।

“ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विकासका दृष्टिले पछाडि परेको छ। भूकम्पको पूर्वसूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ’, प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई आग्रह समेत गरे।

सभाका क्रममा प्रम ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्नेमा अनुसन्धान गर्न आग्रह पनि गरे।

प्रधानमन्त्रीले सागसब्जी उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने बताए।

“आफूूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताअनुसार अनुसन्धान होस्। कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता संस्थासँग सहकार्य होस्। सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु, तपाई वैज्ञानिकबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान गर्न मेरो आग्रह छ ’’, प्रधानमन्त्री ओलीले भने ।

अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युुग सुरु गरिसकेका स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले हाम्रा पुर्खाले सुरु गरेका आयुर्वेद, ध्वनि विज्ञानलगायत क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए।

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि ५० करोड ६८ लाख ३९ हजार रुपैयाँको बजेटसहितका कार्यक्रम स्वीकृत गरेको छ।

सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुुलपति प्रा डा दीलिप सुुब्बाले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई सरकारले समृद्धिको आधार मानेकामा त्यसको प्रशंसा गरिन्।

Sajilo Visa
easy care