आम नागरिकले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको जानीजानी दुरुपयोग गरे: साइबर ब्युरो

  • Technology Khabar | २० भाद्र २०८१, बिहीबार
आम नागरिकले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको जानीजानी दुरुपयोग गरे: साइबर ब्युरो

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्युरोले पछिल्लो समय सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल प्लेटफर्मको दुरुपयोग भएको निष्कर्ष निकालेको छ।

ब्युरोले आज एक विज्ञप्ति जारी गरी आम नागरिकले जानीनजानी यस्ता डिजिटल प्लेटफर्मको दुरुपयोग गरी समाजमा भ्रामक तथा गलत सूचना सम्प्रेषण गरी उदण्डताको स्थिति सृजना भएको दावी गरेको छ।

यस्ता काम कारबाहीले सामाजिक सद्भावमा समेत असर पर्ने देखिएकोले यस प्रकारका गतिविधिमा नेपाल प्रहरी साइबर ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा उल्लेख छ।

ब्युरोले यस्ता प्लेटफर्मको सदुपयोग गरेर सही सूचना मात्र आदानप्रदान गर्न आग्रह गर्दै लेखेको छ, ‘कानूनको अज्ञानता क्षम्य नहुने भएकोले यस्ता गतिविधिमा संलग्न नहुन अनुरोध गर्दै मर्यादित तवरबाट सामाजिक सञ्जाल लगायत डिजिटल प्लेटफर्महरुको सदुपयोग गर्नुभई सही सूचना आदान प्रदान गर्नुहुन सबैमा अनुरोध गर्दछौं।’

यो सूचना तत्काल केही दिन यताका सामाजिक सञ्जालमा विभिन्न उच्च पदस्थ व्यक्ति वा अन्य सर्वसाधारण प्रयोगकर्ताले अभिव्यक्त गरेका विचार, भावना वा अभियान लगायतका कुनै विशेष घटनाक्रमका आधारमा आएको हो वा ब्युरोको नियमित जाँच पड्ताल र अध्ययन अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने दायित्व अन्तर्गत आएको हो भन्ने विज्ञप्तिमा खुलाइएको छैन।

तर सामाजिक सञ्जालको दुरुपयोग गरेमा कानुन अनुसार सजाय हुनसक्छ भन्ने सन्देशलाई मुख्य रुपमा बुझाउन खोजिएको छ। यस्ता प्लेटफर्मको जानेर वा नजानी दुरुपयोग गरेको खण्डमा ‘मलाई कानुन थाहा थिएन त्यसैले गल्ती भयो एक पटकलाई माफ पाउँ भन्ने’ तर्क गरेर उम्किन नसकिने र ‘देशको कानुन अनुसार सजाय भोग्नुपर्ने’ तथ्यलाई मनन गर्न प्रेरित गरिएको छ।

प्रकाशित: २० भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...