के एलियनहरु साँच्चै बेलाबेलामा पृथ्वीमा आउँछन्? के अन्य ग्रहका अनौठा विमान पृथ्वीमा ओर्लन्छन्? यस्तो छ तथ्य

Technology Khabar २० भाद्र २०८१, बिहीबार

काठमाडौं ।

केही वर्षयता पृथ्वीमा एलियनहरु देखिएको भन्ने भनाई तथा कुराकानीहरु निकै चर्चित बन्दै गएको छ। बेलायतका लगभग २० प्रतिशत मानिसहरु एलियन अर्थात् अन्य ग्रहका जीवहरु पृथ्वीमा आएकोमा विश्वास गर्छन्।

लगभग ७ प्रतिशत मानिसले आफ्नै आँखाले यूएफओ अर्थात् अन्य ग्रहबाट आएको उड्ने विमान (उडनतस्तरी) देखेको सुनाउँछन्। अन्तरिक्षसम्बन्धी वेबसाइट स्पेसडटकमका अनुसार यो आँकडा अमेरिकामा अझ धेरै छ र बढ्दो क्रममा पनि छ।

अन्तरिक्षसम्बन्धी वेबसाइट स्पेस डटकमका अनुसार यसरी यूएफओ देखेको र एलियन भएको ठोकुवा गर्ने मानिसहरुको सङ्ख्या अमेरिकामा सन् १९९६ मा २० प्रतिशत रहेकोमा २०२२ मा आइपुग्दा बढेर ३४ प्रतिशत पुगेको छ। यसबाहेक लगभग २४ प्रतिशत अमेरिकीले आफूले यूएफओ आफैंले देखेको बताउने गरेका छन्।

हामीसँग अहिलेसम्म एलियन भएको वा यूएफओ देखिएको कुनै पनि ठोस प्रमाण उपलब्ध नभएका कारण यो विश्वास वा धारणा ठिक उल्टो लाग्न सक्छ। तारा तथा ग्यालेक्सीहरुका अथाह भण्डार भएको यो ब्रह्माण्डमा एक ग्रहमा जीव रहेको कुरा अर्को ग्रहकाले त्यहीँ आएपछि मात्र थाहा पाउने भन्ने हुँदैन। थुप्रै टाढा टाढाका ग्रहबाट आउने संकेतबाट पनि त्यहाँ कोही छ भन्ने अनुमान लगाउन सकिन्छ।

एक लेखकले प्रोसिडिङ्स अफ द इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन नामक जर्नलमा प्रकाशन हुन आँटेको लेखमा एलियन पृथ्वीमा आएको भन्ने भनाई अनौठो अवधारणा नभई समाजमा फैलिएको एउटा ‘मनोवैज्ञानिक समस्या’ रहेको बारे प्रकाश पारेका छन्।

यो अवधारणा हाल यसरी विश्वभरका मानिसमा फैलिएको छ कि कमसेकम अमेरिकाका  राजनीतिज्ञहरुले यसबारे केही बोल्नैपर्ने भइसकेको छ। अमेरिकाको पेन्टागनबाट आएको यूएपी ‘अपरिचित हवाई विमान’ बारेको जानकारीले अमेरिकाभरका मानिसहरुमा एलियन वा यूएफओ हुन्छ किन हुँदैन भन्ने कुरामा दुईमत सिर्जना गरेको छ।

हाल विश्वमै फैलिएको अफवाहमा सैनिक वा जासूसी संस्थालाई पृथ्वीमा एलियन आएको र यूएफओ ओर्लिएकोबारे सबै जानकारी छ तर विभिन्न कारणले गर्दा उनीहरुले जनातामा यसबारे खुलासा गर्न सकेका छैनन्।

यस्ता ‘सत्य’ भनिएका तथ्यमा एलियन र यूएफओ देखिएको, पृथ्वीका मानिस र जीवजन्तुलाई एलियनले अपहरण गरेर यूएफओमा हालेर लगेको तथा एलियन हरुले प्रयोग गरेको पृथ्वीमा उपलब्ध इन्जिनियरिङको ठिक उल्टो पद्धति (रिभर्स-इन्जिनियरिङ) आदि हुन्।

मूलधारका सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा यी कुराहरुबारे गरिने प्रचार प्रसार र दावीलाई पत्याउनेहरुको धेरै छन् भने साँच्चै नै एलियन आएको भनेर पत्याउनेको सङख्या भने थोरै रहेको छ।

सन् २०१९ मा गरिएको एउटा ग्यालप पोल नामक मत सर्वेक्षणमा ६८ प्रतिशत अमेरिकीहरुले ‘सरकारलाई यूएफओबारे धेरै कुरा थाहा छ तर उसले थोरै जानकारी मात्र बाहिर ल्याएको छ’ भन्ने विचार व्यक्त गरेका थिए।

यो राजनीतिक ट्रेन्ड फैलिन दशकौं लागेको बताइएको छ। ऐतिहासिक रुपमा हेर्दा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरले आफ्नो राष्ट्रपतीय चुनावी अभियानमा सन् १९७६ मा आफूले जितेमा सरकारसँग भएको एलियनबारेका तथ्यको सबै कागजात सार्वजनिक गर्ने बताएका थिए।

यसअघि नै उनले आफैंले यूएफओ देखेको दावी गरेका थिए। तर यूफओ देखें भन्ने अधिकांशले वास्तवमा बुध ग्रह देखेको हुने गरेको पाइएको छ। बुध ग्रह पृथ्वीबाट नजिक हुने भएकाले पनि अधिकांशले उक्त चम्किलो ग्रह देख्दा एलियनको विमान अर्थात् यूएफओ भनेर झुक्किएको हुन सक्ने सम्भावना प्रबल रहेको जानकारहरुको ठहर छ।

यसैगरी हिलारी क्लिन्टनले पनि डोनाल्ड ट्रम्पविरुद्धको चुनावी अभियानका क्रममा आफ्नो बलबुताले भ्याएसम्म पेन्टागनमा रहेका यूएफओ र एलियनबारेका फाइल खोल्ने आश्वासन दिएकी थिइन्। यदाकदा पृथ्वीको कुनै भागमा यूएफओ विस्फोट भएको र एलियनहरुका लाश छरपस्ट भएका भन्ने अफवाहहरु पनि बेलाबेलामा फैलिएका सुनिने गरेको छ।

यसै सन्दर्भमा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनले जोन पोडेस्टा नामक आफ्ना विशिष्ट अधिकारीलाई एलियनसम्बन्धी फैलिएको खबर साँचो वा झूटो के हो भन्ने पत्ता लगायन एरिया ५१ मा पठाएको बताएका थिए।

एरिया ५१ अमेरिकी वायुसैनिकको सबैभन्दा उच्च तहको कार्यालय हो। पोडेस्टा आफ्नो जीवनकालमा लामो समय यूएफओबारे अध्ययनमा प्रगाढ रुचीसहित अध्ययन गरेका व्यक्ति रहेको स्पेस डटकमले जनाएको छ।

यो विषयको कागजात सार्वजनिक हुनुपर्छ भन्ने विषयका हालका जल्दाबल्दा अभियन्ता सिनेटका डेमोक्रेटिक नेता चक शुमर हुन्। उनले यूएपीका बारेमा रहेका जानकारी सार्वजनिक गर्नका लागि ३ जना रिपब्लिकन सांसदको सहयोगमा सन् २०२३ मा एक्स्ट्राअर्डिनरी लेजिस्लेसन अर्थात् अद्वितीय विधेयक संसदमा दर्ता गरेका थिए।

उक्त विधेयकमा यूपीए वा यूएफओ र एलियनको अस्तित्व, पृथ्वीमा भ्रमण तथा अन्य जानकारीहरु सबैले बुझ्ने ढंगले समावेश गरिएको स्पेस डटकममा उल्लेख छ।

२०२३ को जुलाईमा दर्ता भएको उक्त विधेयकमा अमेरिकाको कुनै भूभागमा भेटिएर उद्धार गरिएको यूएफओ तथा ‘जीवित वा मृत अवस्थाका अमानवीय जासूसहरुको जैविक प्रमाण’ अमेरिकी सरकार वा निजी साझेदारहरुले गोप्यरुपमा लुकाएर राखेको हुनसक्ने तर्फ इंगित गरिएको थियो।

‘अमानवीय जासूसहरुलाई जुनसुकै उद्गम तथा प्रकृति भए पनि जासूसी गर्ने दायित्व भएका, कुनै पनि कुराहरु महसुस गर्न र बुझ्न सक्ने अमानवीय जीवन धारण गरेका जासूसहरु’ का रुपमा व्याख्या गरिन्छ’, विधेयकमा उल्लेख छ।

पेन्टागनमा रहेका कागजात सार्वजनिक गर्ने प्रयास जो बाइडेन राष्ट्रपति भएलगत्तै शुरु भएको भए पनि हालसम्म कुनै ठोस नतिजा भने हात लागेको छैन। कतै पनि एलियनमाथि वा यूएफओमाथि हमला वा इन्काउन्टर गरेर हताहती भएको वा प्रमाण हात लागेको अवस्था छैन।

केही छ भने कथा, चलचित्र, कार्टुन वा आफैंले बनाएका काल्पनिक एनिमेशनहरु सामाजिक सञ्जालमा भेटिने गरेका र अफवाहहरु मात्रै छन्। यस कुराको नजिक पनि पुग्न सकिएको अवस्था छैन। तर पनि यसबारेमा फैलिएका विभिन्न अफवाह र हल्ला भने घट्ने भन्दा पनि बढ्दो अवस्थामा रहेको छ।

प्रकाशित: २० भाद्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया