चीनद्वारा कम्प्युटिङ डाटा सेन्टर परियोजनामा ६.१ अर्ब डलर लगानी

Technology Khabar १४ भाद्र २०८१, शुक्रबार

चीनद्वारा कम्प्युटिङ डाटा सेन्टर परियोजनामा ६.१ अर्ब डलर लगानी
सांकेतिक तस्बिर

काठमाडौं ।

चीनले पछिल्ला वर्षहरूमा ४३.५ अर्ब युआन (६.१२ अर्ब डलर) भन्दा बढी लगानी गरेको छ जसअन्तर्गत राष्ट्रव्यापी रूपमा कम्प्युटिङ डाटा सेन्टरहरू निर्माण गर्ने परियोजना रहेको छ।

यो कुरा चीनको राष्ट्रिय डाटा ब्यूरोका प्रमुख लिउ लिइहोंगले बिहीबार बताएका हुन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरे अनुसार यो तथ्याङ्क गत जुनको अन्त्यसम्मको तहो। यो जानकारी चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले रिपोर्ट गरेको हो।

बेइजिङले राष्ट्रपति सी जिनपिङको “डिजिटल चीन” निर्माण गर्ने उद्देश्य अनुसार “पूर्वी डाटा, पश्चिमी कम्प्युटिङ” नामक यो पहललाई औपचारिक रूपमा २०२२ को सुरुतिर सुरु गरेको थियो।

संयुक्त राज्य अमेरिकाबाट प्रविधि निर्यातमा कडा प्रतिबन्धहरू सामना गरिरहेका कारण चीनले ठूलो मात्रामा कम्प्युटिङ क्षेत्रमा लगानी गरिरहेको छ। अमेरिकाले उद्योगको अग्रणी एनभिडिया लगायतका केही अत्याधुनिक कम्प्युटिङ उत्पादनहरूको निर्यात सीमित गरेको छ।

यसको प्रतिक्रिया स्वरूप चीनले आफ्नै अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्न प्रयासहरू तीव्र पारिरहेको छ। “पूर्वी डाटा, पश्चिमी कम्प्युटिङ” परियोजनामा मुख्यतया पश्चिमी क्षेत्रमा रहेका आठवटा प्रमुख डाटा सेन्टर हबहरू निर्माण गर्ने योजना समावेश छ।

रोयटर्सका अनुसार यो रणनीतिले पश्चिममा प्रचुर मात्रामा रहेको ऊर्जा स्रोतको उपयोग गर्ने र तटीय आर्थिक केन्द्रहरूमा कम्प्युटिङ शक्ति स्थानान्तरण गर्ने उद्देश्य राखेको छ।

सरकारी खर्च बाहेक बेइजिङले निजी पुँजी लगायतका अन्य प्रकारका लगानीहरू पनि आकर्षित गर्न खोजेको छ। ती आठवटा डाटा सेन्टर हबहरूले २०० अर्ब युआनभन्दा बढी लगानी आकर्षित गरेको लिउले बताए।

उक्त परियोजनामा २० लाख हाराहारी सर्भर र्‍याकहरू स्थापना गरिएको र जसमा करिब ६३% अहिले प्रयोगमा रहेका उनले थपे।

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया