स्मार्ट बन्दै भरतपुर महानगरपालिका: अब सबै वडामा उच्च क्षमताको ‘सिसी क्यामरा’

Technology Khabar २९ श्रावण २०८१, मंगलवार

स्मार्ट बन्दै भरतपुर महानगरपालिका: अब सबै वडामा उच्च क्षमताको ‘सिसी क्यामरा’
सांकेतिक तस्बिर

काठमाडौं ।

भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामरा जडान गरिने भएको छ। यसका लागि महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामरा जडानको प्रक्रिया अघि बढाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार ४ वटा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन ९एएनपिआर० सहित ४ सय १८ वटा उच्च क्षमताका क्यामरा जडान गर्न लागिएको हो। उनका अनुसार यसका लागि ६ वटा कम्पनीको बोलपत्र परेको छ ।

महानगरपालिकाले १० करोड ८३ लाख रुपैयाँ बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ। महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामरा जडान गर्न लागिएको बताइन् ।

उनले भनिन्, “महानगरका सबै वडामा सिसी क्यामरा जडान गर्दैछौँ ।” ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ । एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ ।

नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । बोलपत्रको टुङ्गो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको ४ महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ ।

उनले थपिन्, “ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामराको पहुँच पुग्नेछ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले महानगरले जडान गर्ने क्यामराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताए । शान्तिसुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामरा सहयोगी बन्ने उनको अपेक्षा छ । उनले भने, “कम जनशक्तिमा काम गर्नुपर्दा सिसी क्यामरा निकै सहयोगी बन्ने छ ।”

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया