अष्ट्रेलिया: जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह

  • Technology Khabar | २८ श्रावण २०८१, सोमबार
अष्ट्रेलिया: जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन  सरकारसँग आग्रह

काठमाडौं ।

प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूर्ण प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ। अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो।

दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर (१६ अर्ब अमेरिकी डलर) नोक्सानी हुने गरेको अनुमान गरिएको छ।

यहाँ टेलिभिजन, रेडियो र बिलबोर्डमा मानिसहरूलाई आफ्नो पैसाको जोखिम मोल्न लोभ्याउने विज्ञापन व्यापक छन्।

‘पोकी’ भनेर चिनिने जुवा खेल्ने मेसिन (स्लट मेसिन) हरू पनि भएका धेरै मधुशालाले नागरिकलाई मोजमस्तीमा सहभागी हुन अधिक आकर्षित गर्दछन्।

अस्ट्रेलियाका ६० भन्दा बढी प्रतिष्ठित नागरिकले प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेतालाई लेखेको पत्रमा भनिएको छ, “अस्ट्रेलियामा जुवाको विज्ञापन नियन्त्रणबाहिर गएको छ र एक वर्षको अवधिमा टेलिभिजन र रेडियोमा १० लाखभन्दा बढी जुवाजन्य विज्ञापन प्रसारण भइरहेका छन् ।”

सप्ताहान्तमा जारी गरिएको पत्रमा हस्ताक्षर गर्नेहरूमा सङ्घसंस्था, खेलकुद क्षेत्रका पूर्व राजनीतिज्ञ र विश्वास गरिएका नेताहरू थिए।

उनीहरूले जुवाबाट हुने हानिबारे सन् २०२३ को रिपोर्टसहित अल्बानिजको लेबर सरकार र विपक्षी दललाई तीन वर्षभित्र सबै जुवासम्बन्धी विज्ञापनलाई प्रतिबन्धित गर्न सहमत हुन आग्रह गरेका छन्।

“हाम्रो दैनिक जीवनमा स्क्रिनमा देखिने जुवाजन्य खेलसम्बन्धी विज्ञापन (प्रचार) र जुवाको माध्यमबाट हुने बढ्दो नोक्सानीबाट धेरै नागरिक चिन्तित छन्,” हस्ताक्षरकर्तामध्ये एक पूर्व प्रधानमन्त्री जोन हावर्डले भने ।

“मेरो बुझाइमा जुवाको कारण समुदायमा हानि हाम्रो (अष्ट्रेलियाली) ठूलो क्षतिको लागि जिम्मेवार छ।

‘वित्तीय बर्बादी’

सरकारले उद्धृत गरेको अध्ययनले अस्ट्रेलियाली जुवाखेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलरबराबरको नोक्सानी हुने देखाएको छ।

सन् २०२०–२०२१ को आर्थिक वर्षमा कोभिड–१९ नियन्त्रणका उपायस्वरूप बन्दाबन्दी (लकडाउन) लागु हुँदा धेरै मधुशाला, क्लब र क्यासिनोहरू बन्द गरिएको थियो तर उक्त अवधिमा पनि अस्ट्रेलियाको सरकारी तथ्याङ्कले जुवाजन्य नोक्सानी २४ अर्ब अष्ट्रेलियाली डलरभन्दा बढी भएको देखाएको थियो ।

“हाम्रा बच्चाहरूलाई लक्षित जुवा कम्पनीहरू रोक्न सबै जुवा विज्ञापनमा पूर्ण प्रतिबन्ध आवश्यक छ,” ‘एलाइन्स फर ग्याम्लिङ रिफर्म’ का प्रमुख कार्यकारी मार्टिन थोमसले भने।

थोमसले एक विज्ञप्ति जारी गर्दै भने, “विज्ञापनलाई सीमित गर्ने वा सामाजिक सञ्जालमा मात्र पूर्ण प्रतिबन्ध लगाउने कुनै पनि निर्णय निहित स्वार्थका लागि जीत हुनेछ र यसले अस्ट्रेलियालीहरूलाई ठूलो क्षति पुर्याउनेछ।”

“आर्थिक नोक्सानीका अतिरिक्त अकर्मण्यताको मूल्य ‘बढ्दो आर्थिक विनाश, मानसिक स्वास्थ्य समस्या, आत्महत्या र जुवाले बढाउन सक्ने पारिवारिक हिंसा’ हुनेछ,” उनले भने।

अस्ट्रेलियाको ‘नाइन इन्टरटेनमेन्ट’ पत्रिकाका अनुसार सरकारले केही हप्ताभित्रै प्रस्तावित कानुन घोषणा गर्ने अपेक्षा गरिएको छ।

अल्बानिजले गत हप्ता आफ्नो सरकारले ‘सरोकारवाला’ सँग छलफल गरेको बताउँदै आफू ‘जुवाको हानि कम गर्न’ प्रतिबद्ध रहेको बताएका थिए। तर विज्ञापन उनले प्रतिबन्धको परिकल्पना गरेका थियो कि थिएन भन्नेबारे बताउन अस्वीकार गरे। रासस/एएफपी

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार