चीनको फोल्डेबल बजारमा ह्वावेको प्रभुत्वः आईडीसी
काठमाडौं ।
इन्टरनेशनल डाटा कर्पोरेसन (आईडीसी)ले आफ्नो पछिल्लो रिपोर्टमा चीनको फोल्डेबल बजार दोस्रो त्रैमासिकमा बढ्दै गएको उल्लेख गरेको छ। चीनले १०४ प्रतिशतको वार्षिक दरको वृद्धि देखेको र ह्वावेले सबै बिक्रीको ४१.७ प्रतिशतको साथ बजारमा प्रभुत्व जमाएको प्रतिवेदनमा भनिएको छ।
दोस्रो स्थानमा रहेको कम्पनी भिभोको तुलनामा ह्वावेको उक्त बिक्री प्रतिशत लगभग दोब्बर भएको आईडीसीको भनाई छ।
अनुसन्धान कम्पनीले ह्वावेको शीर्ष स्थानको लागि चीनमा निर्मित चिपसेट र स्याटेलाइट कनेक्टिभिटीको साथ आउने मेट एक्स५ र पकेट २ फोनलाई श्रेय दिएको छ। त्यसपछि भिभोको स्न्यापड्र्यागन ८ जेन ३ सहितको अल्ट्रा–थिन एक्स फोल्ड ३ र एक्स फोल्ड ३ प्रोले दोस्रो त्रैमासिक अवधि सुरु हुनु अघि नै बिक्री सुरु गरेको जनाइएको छ।
तथ्यांकअनुसार, सन् २०२४ को अप्रिल–जुन अवधिमा २.५७ मिलियन फोल्डेबल डिभाइस बिक्री भएको छ। साथै यो सन् २०२३ को दोस्रो त्रैमासिक (क्यू२) र सन् २०२४ को पहिलो त्रैमासिक भन्दा धेरै भएतापनि सन् २०२३ को अन्त्यको बिदाको अवधिको तुलनामा भने अझै पनि पछि रहेको देखिएको छ।
फोल्डेबल फोनहरूको बढ्दो चासोलाई ध्यानमा राख्दै, तेस्रो त्रैमासिक (क्यू३) मा क्रमिक र वार्षिक रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।
त्यसैगरी ह्वावेले नोभा फ्लिपको आगामी लन्चसँगै बजारको अझ ठूलो हिस्सा लिन सक्ने सम्भावना रहेको जनाइएको छ।
नयाँ क्ल्यामशेलमा ह्वावेको अन्य क्ल्यामशेलहरूको भन्दा थोरै ठूलो कभर स्क्रिनका साथ सम्भवतः कम मूल्य ट्याग हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।