के हो सम्पत्ति शुद्धिकरण विरुद्धको जीओएएमएल प्रणाली?

Technology Khabar १२ श्रावण २०८१, शनिबार

काठमाडौं ।

-साजन सुवेदी

सरकारले अधिक जोखिम रहेका विभिन्न क्षेत्रका सूचक संस्थाहरुलाई जीओएएमएल प्रणालीमा आवद्ध गराउने भएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आज जारी गरिएको आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको हो ‍।

मौद्रिक नीतिको वित्तीय क्षेत्र र विदेशी विनिमय सम्बन्धी नीति अन्तर्गत केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको लागि गरिएका व्यवस्थाहरुलाई थप प्रभावकारी बनाउन अधिक जोखिम रहेका विभिन्न क्षेत्रका सूचक संस्थाहरुलाई जीओएएमएल प्रणालीमा आवद्ध गरिने उल्लेख गरेको हो ।

के हो जीओएएमएल?

सामान्य परिभाषाका हिसाबले हेर्दा जीओएएमएल सम्पत्ति शुद्धिकरणविरुद्धको एउटा संयन्त्र हो । यो संयुक्त राष्ट्रसंघीय लागुऔषध तथा अपराधको कार्यालय यूएनओडीसीद्वारा तयार परिएको एउटा सफ्टवेयर हो ।

यो सफ्टवेयर सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा वित्तीय लगानीबारे प्रतिक्रियाका लागि यूएनओडीसीका सदस्य राष्ट्रहरुका लागि तयार पारिएको हो।

यो सफ्टवेयर यसका सदस्य राष्ट्रहरुका वित्तीय अनुसन्धान इकाईहरुका काममा सहयोग पुगोस् भन्ने हेतुले उपलब्ध गराइन्छ ।

नेपाल राष्ट्रबैंकका अनुसार जुन २०२१ सम्ममा विश्वका ५६ देशले यो प्रणाली अवलम्बन गरिसकेका छन्। नेपालको हकमा भने यहाँका क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा पूर्णरुपमा लागू गरिएको छ।

नेपालको वित्तीय अनुसन्धान इकाई (एफआईयू नेपाल अर्थात फाइनान्सियल इन्टेलिजेन्स यूनिट नेपाल) ले यो प्रणालीमा अन्य सम्बन्धित क्षेत्रहरु जस्तै बीमा कम्पनी, ‍धितोपत्र कम्पनी, तथा रेमिटेन्स कम्पनीहरुलाई पनि आवद्ध गर्ने तयारी गरिरहेको छ ।

यो प्रणालीले रिपोर्टिङ निकायहरुबाट अद्यावधिक गरिएका शंकास्पद गतिविधि प्रतिवेदन, शंकास्पद कारोबार प्रतिवेदन तथा थ्रेशहोल्ड कारोबार प्रतिवेदनहरु अनलाइनमार्फत् प्राप्त गरी तिनीहरुको विश्लेषण गर्न सहयोग गर्दछ ।

अन्य समकक्षी प्रणालीहरुको तुलनमा जीओएमएएलले सूचना तथा जानकारी प्राप्त र विश्लेषणका क्षेत्रमा एफआईयूको क्षमता अभिवृद्धि मात्र नगरी तिनीहरुको गुणात्मक विश्लेषणमा समेत सहयोग पुर्याउँछ ।

यो प्रणाली संकलन (नियममा आधारित विश्लेषण, जोखिम भार तथा प्रोफाइलिङ) विश्लेषण तथा सम्प्रेषण (कानून कार्यान्वयन तथा प्रतिक्रिया प्राप्त गर्ने) गरी तीन चरणमा कार्यान्वयन गरिन्छ ।

यसले संकलित तथ्याङ्कको गोपनीयता कायम राख्दै एफआईयू नेपाल रिपोर्टिङ संस्थाहरु कानून कार्यान्वयन निकायहरु तथा न्यायिक अधिकारप्राप्त संस्थाहरु बीच द्रुत गतिमा सूचना तथा जानकारी आदानप्रदान गर्न सहजीकरण गर्दछ ।

वित्तीय अनुसन्धान इकाईले (एसएआर  – सस्पिसस एक्टिभिटी रिपोर्ट) शंकास्पद गतिविधि प्रतिवेदन, (एसटीआर – सस्पिसस ट्रान्ज्याक्शन रिपोर्ट ) शंकास्पद कारोबार प्रतिवेदन तथा (टीटीआर – थ्रेशहोल्ड ट्रान्ज्याक्शन रिपोर्ट) थ्रेशहोल्ड कारोबार प्रतिवेदनका रुपमा रिपोर्टिङ संस्थाहरुबाट रिपोर्टहरु प्राप्त गर्दछ ।

एसटीआर अर्थात् सस्पिसस ट्रान्ज्याक्शन रिपोर्टहरु पनि एसटीआर हाइ, एसटीआर मिडियम, एसटीआर लो तथा एसटीआर पीईपी राजनैतिक व्यक्तित्व संलग्न गरी ४ प्रकारमा वर्गीकरण गरिन्छ । यस्तै टीटीआरहरुलाई टीटीआर क्याश टीटीआर क्रस बोर्डर तथा टीटीआर फरेन एक्स्चेन्ज गरी ३ उप समूहमा विभाजन गरिन्छ ।

 

प्रकाशित: १२ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया