
काठमाडौं ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यहि साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ।
बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” (Geared towards Networking and Collaboration for ICT Development) रहेको छ।
यस बीटूबी समिटमा व्यापारको भविष्य बारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागी विभिन्न कम्पनीका आधिकारिक डिलर र रिसेलरहरु बिच आफ्नो व्यापार प्रवर्धनको अवसर हुनेछ। यसले आयातकर्ता र विक्रेता बिचको ग्यापलाई घटाउने काम गर्ने क्यान महासंघले जानकारी दिएको छ।
बिटुबी मार्फत देशभरिका डिलरहरु र व्यावसायीहरुलाई जोड्ने काम हुने बताईएको छ।
समिटमा व्यावसायीहरु, कर्पोरेट हाउस, प्रोफेसनलको अभुतपुर्व जमघट साथै नवीनतम प्रबिधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए। यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने अध्यक्ष पोदारको भनाइ छ।
कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ।
समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए। उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ।
प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार