Technology Khabar ११ श्रावण २०८१, शुक्रबार
काठमाडौं ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ४८ करोड ५९ लाख ५७ हजार रुपैयाँ बराबरका कूलर र पंखा भित्रिएका छन्।
भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारको तथ्यांक अनुसार उक्त रकम बराबरको १९ लाख ९३ हजार ३८ थान कूलर तथा पंखा आयात भएको हो।
विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा यो एक वर्षको अवधिमा विश्वका विभिन्न १९ मुलुक र एउटा नाम नखुलेको ठाउँबाट गर्मीमा प्रयोग हुने यी सामानहरु आयात भएको देखिएको छ।
यीमध्ये नेपालमा १ लाख २० हजार ७१० थान कूलरहरु आएका छन् जसका लागि ७४ करोड ४४ लाख ९४ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै आयात भएका पंखाको सङ्ख्या १८ लाख ७२ हजार ३२८ र समग्र मूल्य १ अर्ब ६१ करोड २६ लाख २२ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो छ आँकडा
गत आर्थिक वर्षभरमा नेपालमा विश्वका १२ देशबाट कूलर आयात भएकोमा सबैभन्दा बढी भारत र त्यसपछि चीनबाट भएको पाइएको छ। यो अवधिमा भारतबाट ७३ करोड १३ लाख ४३ हजार रुपैयाँ बराबरको १ लाख १२ हजार ७६० थान तथा चीनबाट १ करोड २० लाख १२ हजार रुपैयाँ बराबरको ७ हजार ८०६ थान आयात भएका छन् ।
यसबाहेक कतारबाट ९५, कुवेतबाट २२, इण्डोनेसियाबाट १६ थान कूलर आएका छन् भने मलेशिया, बहराइन जर्मनी हंगेरी साउदी अरेबिया थाइल्याण्ड र यूएईबाट १ देखि बढीमा ३ थान कूलर भित्रिएको छ । यो परिमाणको कूलर आयातबाट सरकारले यो अवधिमा १६ करोड ३७ लाख ९५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।
पंखा
यसैगरी उक्त अवधिमा नेपालमा विश्वका विभिन्न १४ देश तथा एउटा नाम नखुलेको ठाउँबाट १ अर्ब ६१ करोड २६ लाख २२ हजार रुपैयाँ बराबरको १८ लाख ७२ हजार ३२८ थान पंखा ल्याइएको तथ्याङ्क छ । यस्ता पंखामा टेबल, वाल, सिलिङ, फ्लोर र रुफ अर्थात् टेबलमा, भित्तामा, सिलिङमा, भुईँमा तथा छतमा राख्न मिल्ने प्रकारका रहेका प्रतिवेदनाम उल्लेख छ ।
यीमध्ये सबैभन्दा धेरै भारत र चीनबाट क्रमश: १ अर्ब ३९ करोड ४३ लाख ९७ हजार बराबरको १३ लाख ४७ हजार ४ सय थान तथा चीनबाट २१ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको ५ लाख २२ हजार ६५६ थान पंखा आएको छ।
यसबाहेक बंगलादेशबाट १ हजार ५०, कुवेतबाट २०७ नाम नखुलेको ठाउँबाट ३१५ यूएईबाट १९२ जापानबाट १८४ कतारबाट १४१ तथा साउदी अरेबियाबाट १३६ थान पंखा भित्रिएको छ।
पंखा आयात भएका अन्य देशहरुमा सिंगापुर, ओमन, इजरायल, हङकङ, फ्रान्स तथा बहराइन रहेकामा तिनीहरुबाट भने नगण्य अर्थात घटीमा १ र बढीमा २१ थान पंखा ल्याइएको तथ्यांक छ। उक्त परिमाणको पंखा आयातबापत् सरकारले ३५ करोड ४६ लाख ६२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार