‘क्यास एप’मार्फत अवैध कारोबार गर्ने गिरोह पक्राउ

Technology Khabar २८ असार २०८१, शुक्रबार

काठमाडौं ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँचजनालाई पक्राउ गरेको छ।

मोरङ उर्लाबारी महानगरपालिका–८ घर भई हाल काठमाडौँ रविभवन २२ वर्षीय गौरभ भट्टराई, सोही ठाउँका २३ वर्षीय सुजन दाहाल, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ का २२ वर्षीय सिद्धार्थ नेपाली, सुनसरी धरान उपमहानगरपालिका–१५ का २४ वर्षीय आशुतोष कोइराला तथा मोरङ उर्लाबारी महानगरपालिका–७ का २४ वर्षीय मिलन मिश्रलाई पक्राउ गरी आज सार्वजनिक गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार आरोपितहरूले ‘क्यास एप’नामक अनलाइनको प्रयोग गरी सट्टेबाजीका लागि अवैध आर्थिक कारोबार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।

उनीहरूले ‘क्यास एप सर्भर’को पहुँच दिई छ ओटा इसेवा वालेट, पाँचवटा आइपिएस खाता जडान र सोही खाता मेरो लिङ्कअप भएका १९ वटा विभिन्न बैंकका खाताहरूसमेतमा अवैध तरिकाले क्यास एपमार्फत रु पाँच करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए।

पक्राउ परेकाहरूको साथबाट आईफोन पाँच थान, ल्यापटप तीन थान बरामद गरिएको छ।

निजहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले जानकारी दिए। रासस

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया