Technology Khabar ४ असार २०८१, मंगलवार
काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले स्थानीय तहको कार्यालयबाटै राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गर्ने भएको छ।
कार्यालयले शनिबार सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय रहेको मलङ्गवा नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको हरिवन तथा बरहथवा नगरपालिका बाहेक अन्य १७ ओटा पालिकामा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि टोली खटाउने भएको हो।
कार्यालयले यसअघि शुक्रबार सूचना जारी गरी ईश्वरपुर नगरपालिकाको कार्यालयमा रहने स्टेसनबाट ईश्वरपुर नगरपालिकाभित्रका नागरिक र गोडैता नगरपालिकाको कार्यालयमा रहने स्टेसनबाट गोडैता नगरपालिकासहित बलरा नगरपालिका, विष्णु गाउँपालिका र रामनगर गाउँपालिकाका बासिन्दाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने उल्लेख गरेको थियो।
शनिबार फेरि उक्त सूचनालाई परिमार्जन गरी जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय नरहेका १७ ओटै पालिकामा पालैपालो कर्मचारी परिचालन गरेर विवरण सङ्कलन गर्ने उल्लेख गरिएको छ।
सोही अनुसार असार ३ देखि ६ गतेसम्म बलरा नगरपालिका, गोडैता नगरपालिका र ईश्वरपुर नगरपालिकामा विवरण सङ्कलन टोली खटिने भएको छ।
रामनगर गाउँपालिकामा असार ३ देखि ५ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने टोली बस्ने छ। उक्त टोली असार ७ देखि ९ गतेसम्म भने धनकौल गाउँपालिका, विष्णु गाउँपालिका, चन्द्रनगर गाउँपालिका र बसबरिया गाउँपालिकामा बस्ने छ।
त्यस्तै कौडेना गाउँपालिका र चक्रघट्टा गाउँपालिकामा असार १० देखि १२ गतेसम्म तथा हरिपुर नगरपालिका र हरिपूर्वा नगरपालिकामा असार १० गतेदेखि १३ गतेसम्म राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालयले कर्मचारी टोली परिचालन गर्नेछ।
यी १२ ओटा पालिकामा विवरण सङ्कलन भएपश्चात् प्रशासन कार्यालय नरहेको बाँकी पाँच पालिकामा यसैगरी मिति तोकेर कर्मचारी खटाइने कार्यालयले जनाएको छ।
आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले राष्ट्रिय परिचयपत्र विवरण दर्ता गराउन अनिवार्य गरिएपछि केही दिनदेखि जिल्ला प्रशासन कार्यालय मलङ्गवा र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा विवरण दर्ता गर्ने सेवाग्राहीको थेगिनसक्नु भिड लागेको थियो।
प्रकाशित: ४ असार २०८१, मंगलवार