ताजा समाचार

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा, सुरक्षण मुद्रणसम्बन्धी विधेयक टेबुल

मिडिया काउन्सिल विधेयकबारे दफावार छलफल गर्न समितिमा, सुरक्षण मुद्रणसम्बन्धी विधेयक टेबुल
सञ्चारमन्त्री शर्मा काठमाडौँ, २८ जेठ ः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा सोमबार राष्ट्रियसभा बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दै । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
Global IME Bank

राष्ट्रियसभाको आज बसेको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पारित गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।

पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न, स्वनियमनलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षण गर्न स्वायत्त नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको आवश्यकता रहेकाले यो विधेयक गत वैशाख १३ गते राष्ट्रिय सभामा दर्ता गरिएको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो विधेयक दर्ता गराएकी हुन्।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरेका थिए।

नेपालको संविधान, २०७२ अनुसार सङ्घीय सरकारको एकल अधिकार क्षेत्रभित्र रहेको सुरक्षित छापाखाना स्थापना तथा सुरक्षण मुद्रण सामग्रीको देशभित्रै सुरक्षित, भरपर्दो र गुणस्तरीय मुद्रण केन्द्रको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा उपयुक्त कानुनी व्यवस्था गर्न तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले २०७७ असार २४ गते यो विधेयक राष्ट्रिय सभामा दर्ता गराएका थिए।

यो विधेयकमा सुरक्षण मुद्रण केन्द्रको स्थापना गरी सुरक्षण मुद्रणको कार्य सञ्चालन गर्ने व्यवस्था तथा सुरक्षण मुद्रणको कार्य गरेबापत प्राप्त हुने शुल्क, नेपाल सरकारबाट प्राप्त अनुदान तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट प्राप्त सहयोग परिचालनसम्बन्धी व्यवस्थाहरु राखिएका छन्।

यस्तो शुल्क, अनुदान तथा सहयोगबाट प्राप्त हुने रकम राख्न सुरक्षण मुद्रण केन्द्रको छुट्टै कोष रहने र मुद्रण केन्द्रका तर्फबाट गरिने सम्पूर्ण खर्च कोषमा जम्मा भएको रकमबाट व्यहोरिने व्यवस्था विधेयकमा गरिएको छ। रासस
Sajilo Visa
easy care