Technology Khabar १३ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
महालेखापरीक्षकले दूरसञ्चार सेवा प्रदायकहरुले तिर्नुपर्ने ग्रामीण दूरसञ्चार विकास कोषको बाँकी रकम असुल गर्न सुझाब दिएको छ।
महालेखापरीक्षकको एकसट्ठिऔँ वार्षिक प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति पत्र प्राप्त सेवा प्रदायकहरुको आयमा गणना गर्न छुट भएको रू. ६ अर्ब ६८ करोड ९१ लाख १३ हजारको २ प्रतिशतले हुने दस्तुर रू.१३ करोड ३७ लाख ८२ हजार र जरिबाना रू. २ करोड २५ लाख ६९ हजारसमेत रू. १५ करोड ६३ लाख ५१ हजार असुल गरी ग्रामीण दूरसञ्चार कोषमा दाखिला गर्नुपर्ने भनेको हो।
महालेखा परीक्षकको कार्यालयले दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसञ्चार विकास कोष) विनियमावली, २०६८ को विनियम ५ मा वार्षिक आयको २ प्रतिशतका दरले हुने रकम ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको देखाउँदैे सो रकम असुल गर्न भनेको हो।
जसअनुसार, यो वर्ष १२ सेवा प्रदायक संस्थाले मर्मत र सपोर्ट चार्ज बाहेकको आय रकममा मात्र दस्तुर बुझाएको देखिएको छ।
“उल्लिखित आयमा गणना गर्न छुट भएको रू. ६ अर्ब ६८ करोड ९१ लाख १३ हजारको २ प्रतिशतले हुने दस्तुर रू.१३ करोड ३७ लाख ८२ हजार र जरिबाना रू. २ करोड २५ लाख ६९ हजारसमेत रू. १५ करोड ६३ लाख ५१ हजार असुल गरी ग्रामीण दूरसञ्चार कोषमा दाखिला गर्नुपर्दछ।” प्रतिवेदनमा भनिएको छ।
यस्तै यो वर्ष १४ दूरसञ्चार सेवा प्रदायक संस्थाले पेस गरेको आय वर्ष २०७८/७९ को आय विवरणअनुसारको आयमा रोयल्टी ( जरिबानासमेत) रू. ७ करोड ७० लाख १८ हजार र ग्राहकसँग असुल गरेको मर्मत तथा सपोर्ट अन्य चार्ज आम्दानीको रोयल्टी रू. ३२ करोड १६ लाख ५४ हजार, असुल गर्न भनेको छ भने तीन सेवा प्रदायकले मन्त्रिपरिषद्को किस्ता सुविधाको निर्णयअनुसार बुझाउनुपर्ने चौथो किस्ताको फ्रिक्वेन्सी दस्तुर रू.९९ करोड ३१ लाख १९ हजार, ६ सेवा प्रदायकले बुझाउनुपर्ने फ्रिक्वेन्सी तथा भिस्याट दस्तुर रू.१ अर्ब २९ करोड ६७ लाख ४९ हजार समेत उठाउन भनेकोछ।
यसैगरी दुई प्रसारण संस्थाले २०७८/७९ को वित्तीय प्रतिवेदनअनुसारको प्रसारण आम्दानीमा प्रसारण शुल्क जरिबानासमेत रू. १ करोड ९ लाख ९४ हजार, १३ दूरसञ्चार सेवा प्रदायकको २०७८/७९ को वार्षिक आयमा ग्रामीण दूरसञ्चार दस्तुर जरिबानासमेत रू. ३ करोड ८५ लाख ८ हजार गरी कुल रू. २ अर्ब ७३ करोड ८० लाख ४२ हजार असुल भएको नदेखिएकोले उक्त रकम असुल गर्न सरकारलाई सुझाब दिएको छ।
प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार