Technology Khabar १३ जेष्ठ २०८१, आईतवार
काठमाडौं ।
अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षणअनुसार हालसम्म अनलाईनमार्फत व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्य गर्ने स्थानीय तहका वडाको सङ्ख्या ६,६९२ पुगेको छ।
प्रतिवेदनअनुसार २०८० फागुनसम्म १५ लाख ९६ हजार ३ सय २० व्यक्तिगत घटना दर्ता भएका छन्। यसअघि २०८० असारसम्म १६ लाख २६ हजार २ व्यक्तिगत घटना दर्ता भएका थिए।
अनलाईन घटना दर्ता प्रणालीमार्फत नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरका सन्तानलाई जन्म दर्ता गर्दाको बखत नै राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ता प्रमाणपत्र जारी गर्ने कार्य शुरू भएको छ।
यसैगरी विदेशस्थित १५ नेपाली कुटनीतिक नियोगबाट व्यक्तिगत घटना (जन्म र मृत्यु) दर्ता कार्यसमेत शुरू भएको छ।
सार्वजनिक तथ्यांकअनुसार राष्ट्रिय परिचयपत्रको लागि देशभर ९७८ स्टेशनमार्फत नागरिकको विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ।
हालसम्म राष्ट्रिय परिचय पत्रको लागि कुल १ करोड ४१ लाख ७१ हजार १ सय १९ नागरिकको विवरण सङ्कलन भएकोमा १ लाख ३३ हजार २५ राष्ट्रिय परिचय पत्र वितरण गरिएको उल्लेख छ।
प्रकाशित: १३ जेष्ठ २०८१, आईतवार