Technology Khabar १६ बैशाख २०८१, आईतवार
काठमाडौं ।
जर्मन कार निर्माता बिएमडब्लुले उत्तरपूर्वी चीनको लिओनिङ प्रान्तको राजधानी शेनयाङमा रहेको आफ्नो उत्पादन आधारमा २० अर्ब युआन (लगभग २ अर्ब ८१ करोड अमेरिकी डलर) थप लगानी गर्ने शुक्रबार घोषणा गरेको छ।
कार निर्माताले यो लगानी चीनमा रहेको बिएमडब्लु समूहको संयुक्त उद्यम, बिएमडब्लु ब्रिलियन्स अटोमोटिभ लिमिटेड (बीबीए) को डाडोङ्ग प्लान्टको स्तरोन्नति र प्राविधिक आविष्कारका लागि प्रयोग गरिने बताएको सिन्ह्वाले रिपोर्ट गरेको छ।
“नियोजित लगानीले चीनको दीर्घकालीन आर्थिक सम्भावनाहरूमा हाम्रो विश्वास मात्र होइन, तर हाम्रा चिनियाँ साझेदारहरूको नवप्रवर्तन क्षमतामा पनि जोड दिन्छ,” बिएमडब्लु एजीको व्यवस्थापन बोर्डका अध्यक्ष ओलिभर जिप्सेले एक भाषणमा भने।
सन् २०२६ मा, बिएमडब्लु मोडेलहरूको पूर्ण रूपमा नयाँ पुस्ता पहिलो एईयूई क्लासे (NEUE KLASSE) मोडेलहरू, जसले विद्युतीकरण, डिजिटलाइजेसन र सर्कुलर इकोनोमीका क्षेत्रमा बीएमडब्लुका सबै आविष्कारहरूलाई संयोजन गर्दछ, शेनयाङमा उत्पादन लाइन संचालन हुने जिप्सेले उल्लेख गरे।
रिपोर्टकाअनुसार, बिएमडब्लुले पछिल्ला वर्षहरूमा शेनयाङमा आफ्नो लगानी बढाउँदै आएको छ। नोभेम्बर २०२३ मा, बीबीबएले १० अर्ब युआनको कुल लगानीमा नयाँ ब्याट्री उत्पादन प्लान्टको मुख्य भवनको निर्माण पूरा गर्यो।
२०२३ मा, बीएमडब्लु समूहले चिनियाँ बजारमा कुल ८ लाख २० हजार बिएमडब्लु र मिनी सवारीसाधनहरू उपलब्ध गराएको थियो।
प्रकाशित: १६ बैशाख २०८१, आईतवार