नेपाल टेलिकमको सेवा सुधार गर्नुपर्ने सुझाब

Technology Khabar २७ चैत्र २०८०, मंगलवार

काठमाडौं ।

नेपाल टेलिकमको सेवा विस्तार गर्दै सुधार गर्नुपर्नेमा पाल्पा जिल्लाको तानसेनमा आयोजित कार्यक्रमका सहभागीले सुझाब दिएका छन्। नेपाल टेलिकमले शुक्रबार तानसेनमा आफ्नो सेवा सम्बन्धी गरेको जानकारी एवं अन्तर्क्रिया कार्यक्रमका सहभागीले टेलिकमको सेवा सुधारमा ध्यान दिन सुझाब दिएका हुन्।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमलाई जनताका बिचमा पुयाउने र सुधार गर्ने उद्देश्यका साथ अधि बढेको बताइन्।

उनले आफू आएपछि पहिलो पटक हाइवे कनेक्टिभिटीको काम अगाडि बढाउने निर्णय गरे अनुसार काम अघि बढेको जानकारी दिईन। उनले सुगम र दुर्गम स्थानमा भएको पनि मोबाइलका फोन नटिप्ने समस्या भएको गुनासोलाई तत्काल समाधान गर्न आवश्यक रहेको उल्लेख गरिन। उनले सरकारी निकायका बिचमा प्रभावकारी समन्वयको अभावमा सरकारी सेवामा अवरोध आएको उल्लेख गर्दै त्यस्तो बेलामा जनप्रतिनिधिसँग छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिईन्।

यस्तै नेपाल टेलिकमका निर्देशक सगीता पहाडी अर्यालले समयसापेक्ष टेलिकमले आफ्नो सेवा विस्तार र सुधार गर्दै लगेको जानकारी दिईन्। उनले अहिले पनि विविध कारणले जनताले चाहे अनुसारको काम हुन नसकेको बताउँदै सेवा सुधारका लागि बजेट र कार्यक्रमको व्यवस्थापन भइरहेको बताईन्।

प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले अहिले पनि नागरिकले टूजीको सेवा लिनका लागि गुनासो गर्नुपर्ने अबस्था आउनु दुःखद रहेको बताए। उनले नेपाल टेलिकम राष्ट्रकै राम्रो संस्था भएकाले यसले आफ्नो सेवा सुधार गर्नुको विकल्प नभएको बताए।

प्रतिनिधि सभाका सदस्य नारायणप्रसाद आचार्यले विद्यालयमा प्रविधि प्रशिक्षण तथा कम्प्युटरसम्बन्धी शिक्षणको नेतृत्व टेलिकमले गर्नुपर्ने उनले बताए। सरकारी निकायले दिने सबै खालको अनलाइन सेवा इन्टरनेटका कारण अबरुद्ध बनेकाले सेवा सुधार गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरेले दुर्गममा सेवा विस्तार गर्दै टेलिकमको सेवा सुधार गर्न सुझाव दिए।

प्रदेश सभाका सदस्य इन्द्रा गहतराजले सहरी क्षेत्रमा पनि इन्टरनेट सुविधा अहिले पनि गुणस्तरीय हुन नसकेको गुनासो गरे। यस्तै राजेन्द्र विश्वकर्माले टेलिकमको टावरनजिकै पनि नेटवर्क टिप्ने अवस्था नरहेकोप्रति गम्भीर हुनुपर्नेमा जोड दिए। जिल्लाको निस्दी रैनादेवी छहरा, पूर्वखोला, मायागढी क्षेत्रका केही भागमा अहिले पनि मोबाइल फोनका सेवामा सुधार आउन नसकेको सहभागीले बताएका थिए।

विद्यालय तथा सरकारी निकायमा निःशुल्क प्रदान गरिएको इन्टरनेट सेवा तीन महिना नमलेर अवरुद्ध बनेको पूर्वखोला-२ जल्पाका वडाध्यक्ष नीरबहादुर सारूले बताए। गोरखापत्रबाट

प्रकाशित: २७ चैत्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया