
काठमाडौं ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप नै ‘अवाकस’ भएको बताएका छन्।
बालविकास एनसिमास प्रालिद्वारा आयोजित राष्ट्रव्यापी अवाकस प्रतियोगिता कार्यक्रममा उनले परम्परागत गुरुकुल शिक्षा पद्धतिको वैज्ञानिक स्वरुपको पठनपाठन विधि अहिले प्रयोगमा रहेको ‘अवाकस’ विधि रहेको दाबी गरे।
‘अवाकस’ भनेको एक मेकानिकल यन्त्र हो जसलाई अङ्कगणितीय गणनामा प्रयोग गरिन्छ।
सांसद बडूले बालबालिकाको मस्तिष्कको विकास गर्न विद्यालयले अनुसन्धानात्मक तरिकाबाट पठनपाठन गरिनुपर्नेमा जोड दिए। उनले भने, “विद्यालयमा अवाकसलाई अतिरिक्त कार्यक्रममा राखेमा विद्यार्थी धेरै चाँडो सिक्न सक्ने हुन्छन् । अवाकस विधि सिकेमा हरेक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने सजिलो हुन सक्छ।”
बालविकास एनसिमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालले बालबालिकाको क्षमता वृद्धिका लागि गणितीय प्रतियोगिता ‘अवाकस’ महत्वपूर्ण हुने बताए। उनले प्राथमिक तहमा अध्ययन गर्ने बालबालिकाका लागि ‘अवाकस’ अनिवार्य हुनुपर्नेमा जोड दिए। रासस
प्रकाशित: २१ फाल्गुन २०८०, सोमबार