Technology Khabar १४ फाल्गुन २०८०, सोमबार
काठमाडौं ।
बैंक तथा वित्तीय संस्थालाई ‘एपीआई म्यानेजमेन्ट सिस्टम-एपीआईएमएस’ उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ।
समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
समझदारी अनुसार नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस ‘कार्यान्वयन साझेदार’ हुनेछ।
यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपीसीआई)को स्ट्यान्डर्डअनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस-भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ । यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ ।
बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ ।
हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको जनाएको छ।
प्रकाशित: १४ फाल्गुन २०८०, सोमबार