Technology Khabar २८ माघ २०८०, आईतवार
काठमाडौं ।
बजार अनुसन्धान फर्म क्यानालिसकाअनुसार गत वर्षको सोही अवधिको तुलनामा अन्तिम त्रैमासमा उल्लेखनीय ११ प्रतिशतको गिरावट आएको हुनाले सन् २०२३ को ट्याब्लेटको बिक्री उँधोगतिमा समाप्त भएको छ।
यो मन्दीले वर्षको कुल गिरावटलाई १० प्रतिशतमा ल्याएको र जम्मा १३५.३ मिलियन ट्याब्लेट ढुवानी भएको छ। यो सन् २०११ पछिको सबैभन्दा कम संख्या भएको उल्लेख छ।
“होलीडे (विदा) प्रमोशन र बन्डल डिलका बावजुद पनि ट्याब्लेट बजार यसको असरबाट बच्न सकेन” क्यानालिसका विश्लेषक हिमानी मुक्काले भनिन्।
यद्यपि, राम्रो सूची व्यवस्थापन, सरकारी खरिदहरूका साथै टीसीएल र लेनोभो जस्ता खेलाडीहरूबाट नयाँ ट्याब्लेट मोडलहरू जस्ता कारकहरूका कारण सन् २०२४ मा रिबाउन्ड हुने मुक्काले भविष्यवाणी गरेकी छन्।
एप्पलले पनि यो वर्ष आफ्नो आईप्याड लाइनअप रिफ्रेस गर्ने अपेक्षा गरिएको हुनाले यसले बजारलाई बढावा दिन मद्दत गर्न सक्नेछ।
तथ्यांकअनुसार, समग्र गिरावटको बावजुद, एप्पल शीर्ष बिक्रेता रहन सफल भयो । कम्पनीले अन्तिम त्रैमासिकमा १४.८ मिलियन आईप्याडहरू ढुवानी गरेको जनाइएको छ। यद्यपि यो २०२२ को तुलनामा २४ प्रतिशत कम भएको हो।
त्यसैगरी ६.८ मिलियन युनिटका साथ सामसङ दोस्रो स्थानमा रहेको र वार्षिक १०.५ प्रतिशत गिरावट सामना गरेको छ।
ह्वावे २.८ मिलियन युनिट (इकाइहरु)का साथ तेस्रो स्थानमा रह्यो जुन सन् २०२२ को चौथो त्रैमासिकको तुलनामा ९५.४ प्रतिशतको वृद्धि हो। यसका साथै लेनोभोले पनि १५ प्रतिशतको स्वस्थ वृद्धि देख्यो र २.६ मिलियन युनिट (इकाई) का साथ चौथो स्थानमा पुग्न सफल भयो।
त्यसैगरी २० लाख इकाइहरूको ढुवानीका साथ अमेजन शीर्ष पाँचमा रहेको भएतापनि वार्षिक ४३.९ प्रतिशत गिरावटको सामना गरेको उल्लेख गरिएको छ।
ट्याब्लेट बजारको अवस्था उल्टाउनको लागि इन्नोभेसन महत्वपूर्ण रहेको विश्लेषकहरूले विश्वास व्यक्त गरेका छन्। क्यानालिसका किरन जेसपले अन–डिभाइस एआई इन्टिग्रेसन (एकीकरण) जस्ता फिचर्स (सुविधाहरू) को सन्दर्भमा “ट्याब्लेट र अन्य पर्सनल कम्प्युटिङ डिभाइसहरू बीचको अन्तर” लाई औंल्याए।
यस खाडललाई पूरा गर्नु र डिभाइसहरूमा थप युनिफाइड युजर एक्सपिरियन्स (एकीकृत प्रयोगकर्ता अनुभव) सिर्जना गर्नु विक्रेताहरूको लागि महत्त्वपूर्ण हुने विश्लेषकहरूले बताएका छन्।
ट्याब्लेट बजारको विपरीत पीसी ढुवानीले सन् २०२४ मा ८ प्रतिशत वृद्धि देख्ने अपेक्षा गरिएको छ भने शिपमेन्ट २६७ मिलियन युनिटहरूमा पुग्ने उल्लेख गरिएको छ।

प्रकाशित: २८ माघ २०८०, आईतवार