Technology Khabar २२ माघ २०८०, सोमबार
काठमाडौं ।
रुसी अन्तरिक्ष यात्री ओलेग कोनोनेन्कोले आइतबार अन्तरिक्षमा बिताएको कुल समयको लागि विश्व कीर्तिमान कायम गरेका छन्। उनले आफ्नो देशका गेन्नाडी पडल्कालाई उछिन्दै ८७८ दिनभन्दा बढी समय (अर्बिट) कक्षमा बिताएको रुसको अन्तरिक्ष निगमले बताएको रोयटर्सले उल्लेख गरेको छ।
०८३० जीएमटीमा कोनोनेन्कोले रेकर्ड तोडेको रोस्कोसमोसले बताएको छ। कोनोनेन्कोले जुन ५ मा अन्तरिक्षमा कुल एक हजार दिन पूरा गर्ने अपेक्षा गरिएको छ र सेप्टेम्बरको अन्त्यसम्ममा उनले एक हजार ११० दिन पूरा गर्नेछन्।
“म मेरो मनपर्ने काम गर्न अन्तरिक्षमा उड्छु, रेकर्ड बनाउन होइन,“ कोनोनेन्कोले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)बाट टीएएसएसलाई अन्तर्वार्तामा भने जहाँ उनी पृथ्वीबाट लगभग २६३ माइल (४२३ किलोमिटर) टाढा परिक्रमा गरिरहेका छन्।
‘मलाई मेरा सबै उपलब्धिहरूमा गर्व छ। तर मलाई अझै गर्व छ कि अन्तरिक्षमा मानव बसेको कुल अवधिको रेकर्ड अझै पनि रूसी अन्तरिक्ष यात्रीको हातमा छ।’
यस अर्का रुसी अन्तरिक्ष यात्री पदल्काले कुल ८७८ दिन ११ घन्टा २९ मिनेट ४८ सेकेण्ड अन्तरीक्षमा रहँदै रेकर्ड कायम गरेका थिए। उनको रेकर्ड ५९ वर्षीय ओलेग कोनोनेन्कोले तोडेको रोस्कोसमोसले जानकारी दिएको छ।
सोभियत संघले अन्तरिक्ष दौडको प्रारम्भिक वर्षहरूमा सन् १९५७ मा पृथ्वीको परिक्रमा गर्न पहिलो उपग्रह स्पुतनिक १ प्रक्षेपण गरेको थियो। त्यसपछि सोभियत अन्तरिक्ष यात्री युरी गागारिन सन् १९६१ मा अन्तरिक्षमा यात्रा गर्ने पहिलो व्यक्ति बनेका थिए।
तर १९९१ मा सोभियत संघको पतन पछि, रूसको अन्तरिक्ष कार्यक्रम ठूलो रकमको अभाव र भ्रष्टाचारबाट प्रभावित भएको थियो।
प्रकाशित: २२ माघ २०८०, सोमबार