थप तीन स्थानमा चार्जिङ स्टेसन स्थापना

Technology Khabar ९ माघ २०८०, मंगलवार

काठमाडौं ।

कोशी प्रदेश सरकारको लगानीमा मोरङ, सुनसरी र झापामा सरकारी कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको छ।

सार्वजनिक र पायक पर्ने स्थानमा स्थानीय तहले जग्गा उपलब्ध नगराउँदा मोरङ र सुनसरीमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय मातहतका कार्यालय परिसरमा विद्युतीय चार्जिङ स्टेसन निर्माण गरिएको हो।

झापाको कनकाई नगरपालिकाले जग्गा उपलब्ध गराएपछि सुरुङ्गामा भने पायक पर्ने स्थानमा चार्जिङ स्टेसन स्थापना गरिएको हो।

कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयका सूचना अधिकारी राजेन्द्रकुमार माझीका अनुसार चालु आर्थिक वर्षको कार्यक्रम अनुसार प्रदेश सरकारले तीन स्थानमा चार्जिङ स्टेसन निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको छ। माझीका अनुसार स्थानीय तहसँग जग्गा उपलब्ध गराउन सहजीकरण गरिदिन भन्दै पत्राचार गरिएको थियो ।

पत्राचार गर्दा विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले पायक पर्ने स्थान उपलब्ध नगराएपछि मन्त्रालय मातहतका कार्यालय परिसरमा चार्जिङ स्टेसन निर्माण गरिएको हो। विराटनगर–२ स्थित जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय परिसर र सुनसरीको इटहरीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा चार्जिङ स्टेसन स्थापना गरिएको छ।

सरकारी कार्यालय परिसरमा स्थापना गरिएको स्टेसनमा निजी सवारीले चार्जिङ गर्ने छन्। ‘सिसिएस टु’ (कम्बाइन चार्जिङ सिस्टम) चार्जिङ प्रणालीको स्टेसन निर्माणमा हतारो देखिएको आलोचनासमेत भएको छ।

विराटनगर–११ स्थित बसपार्कबाट विराटनगर–२ सिडिओ कार्यालय छेउको चार्जिङ स्टेसन सवारीका लागि अपायक पर्दछ। विराटनगर बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले जिविटी चार्जिङ प्रणालीको स्टेसन निर्माण गरेको छ। यसले सबै प्रकारका विद्युतीय सवारीको चार्ज गर्न मिल्दैन। यसै गरी इटहरीको बसपार्क र स्टपदेखि अहिले बनाइएको चार्जिङ स्टेसनसमेत अपायक नै पर्ने देखिन्छ।

झापामा भने स्थानीय तहसँग सहकार्य गरेर पायक पर्ने स्थानमा निर्माण गरिएको छ । मन्त्रालयका सूचना अधिकारीका अनुसार तीन ओटा चार्जिङ स्टेसन एक करोड १४ लाख रुपियाँ लागतमा निर्माण भएका हुन्।

६० किलोवाट क्षमताको विराटनगर चार्जिङ स्टेसनको आइतबार मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गरेपछि तीन ओटै स्टेसन सञ्चालनमा आएका हुन्। इन्टर ट्रेड नेपाल निजी कम्पनीले ठेक्का लिएर बनाएको चार्जिङ स्टेसन जिविटीभन्दा आधुनिक भएको दाबी कम्पनीका वैभव केडियाको छ।

प्रकाशित: ९ माघ २०८०, मंगलवार

तपाइको प्रतिक्रिया